अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे'

वैशाख १९, २०८१ | काठमाडौं

अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धी र आगामी बाटो’ नाराका साथ आज मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रुपमा यस दिवसलाई लिने गरेका छन् ।

श्रमिकको हक अधिकार सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले मजदुरका संघ–संगठनले पनि कार्यक्रम गरी दिवस मनाउँदै छन् । नेपालमा पनि ’सबैका लागि सामाजिक न्याय तथा मर्यादित काम’ भन्ने नाराका साथ देशभर प्रचारात्मक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । 

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर श्रमिक दिवस मनाइन्छ । 

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर श्रमिक दिवस मनाउने गरिन्छ । 

नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । तर, २०६४ सालदेखि अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक बिदा दिन थालेको थियो ।


प्रतिक्रिया