सरकारको बेवास्ताले किसानको समस्या सधैं एउटै र उस्तै

पुस २५, २०७८ | काठमाडौं

उखु किसानहरुको समस्या समाधानमा सरकार गम्भीर नबन्दा उनीहरुको समस्या सधैं एउटै र उस्तै देखिएको छ । किसानको माग अनुसार बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई बारम्बार निर्देशन दिएपनि अझै किसानले सबै भुक्तानी पाउन सकेका छैनन् ।

फलस्वरुप वर्षौंदेखि किसानहरु उखुको भुक्तानीका लागि सघंर्ष गर्दै आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङक अनुसार विभिन्न चिनी उद्योगले उखु किसानलाई अझै ८ करोड ७० लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

कुनै समय चिनीमा आत्मनिर्भर बनेको नेपाल अहिले विभिन्न मुलुकबाट आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । कुनै समय नेपालमा चिनीको मिलको संख्या २९ वटा रहेको थियो । तर, ती उद्योगहरु बन्द भएर अहिले ८ वटामा सीमित भएको छ । यसले मुलुकमा चिनी उत्पादन क्षेत्रमा थुप्रै समस्याहरु रहेको संकेत गर्छ । नेपालमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क छ ।

नेपालमा वार्षिक एक लाख ७० हजार मेट्रिक टन चिनी उत्पादन हुँदै आएको छ । अपुग चिनी व्यापारीले विभिन्न मुलुकबाट आयात गर्ने गरेका छन् । आफूले उत्पादन गरेको उपजको उचित मूल्यदेखि बेचिएको उखुको भुक्तानीका लागि समेत आन्दोलन गर्नु किसानको नियति नै बनेको छ । बर्सेनि उखुको बक्यौता भुक्तानीका लागि किसानहरुले संघर्ष गर्दै आईरहेको छ । 


प्रतिक्रिया