वीरगञ्ज नाका हुँदै भित्रियो साल्टको २० हजार टन युरिया

जेष्ठ ५, २०८२ | पर्सा
पर्साको वीरगञ्ज नाकाबाट पछिल्लो तीन सातामा २० हजार मेट्रिक टन युरिया मल भित्रिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वीरगञ्जस्थित मधेश प्रादेशिक कार्यालयका सूचना अधिकारी सन्जय गुप्ताका अनुसार तीन सातामा २० हजार मेट्रिक टन युरिया मल भित्रिएको हो ।
वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाहबाट गरी ८ रेल्वे र्याकमा सो परिमाण बराबरको युरिया मल आईपुगेको उहाँले जानकारी दिनुभयो । साल्टले ग्लोबल टेण्डरबाट ३० हजार टन युरिया मल आयात गर्न लागेकोमा सोही कन्साइन्मेन्टको मल निरन्तर भित्रिरहेको हो ।
आदित्य बिरला कम्पनी यो कन्साइन्मेन्टको आपूर्तिकर्ता रहेको छ । उसले तुर्कमिनिस्तानबाट यो मल ल्याउँदै छ । भारतको कोलकाता बन्दरगाह हुँदै यो मल रेलमा ढुवानी गरी वीरगञ्ज नाकासम्म ल्याइँदै छ ।
कुल ३० हजार टन मध्ये वीरगञ्ज प्रादेशिक कार्यालयले करीब १२ हजार ७ सय ७४ टन मल पाउने छ । बाँकी मल भैरहवा र विराटनर प्रादेशिक कार्यालयले पाउने छन् । हालसम्म वीरगञ्ज प्रादेशिक कार्यालयको गोदाममा ९ हजार ९ सय ७७ दशमलव ४० टन युरिया मल भित्रिसकेको सूचना अधिकारी गुप्ताले बताउनुभयो ।
वीरगञ्ज गोदाममा भण्डारण गरिएसँगै माग भएका जिल्लाहरुमा युरिया मल परिचालन समेत भईरहेको उहाँले जानकारी दिनुभयो । कम्पनीको भैरहवास्थित प्रादेशिक कार्यालयको मल वीरगञ्जबाट ढुवानी गरेर त्यसतर्फ लगिँदैछ । मधेश प्रादेशिक कार्यालयले कार्यालयले मधेश, बागमती र गण्डकी प्रदेशका गरी १६ जिल्लामा मल परिचालन गर्दै आएको छ ।