आजबाट ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सुरु
पुस १२, २०८२ | काठमाडौं
आजबाट राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु फेस्टको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उद्घाटन गर्नुभएको हो । ‘जे गछौं, नेपालमै गछौं’ भन्ने नारासहित सुरु भएको फेस्टले नेपालमै अवसरहरु छ भन्ने सन्देश दिएको मन्त्री घिसिङले बताउनुभयो ।
निर्माण सम्बन्धी नेपालको सबैभन्दाठूलो मेलाका रुपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्य राखेको छ । पहिलो दिन आज १५ हजार बढी दर्शकले मेलाको आवलोकन गरेको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ । ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टमा २ अर्ब बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा विश्वकै ठूलो इट्टा लगायत निर्माण सामग्री प्रदर्शनीमा राखिएको छ । आजबाट सुरु भएको फेस्ट आगामी मंगलबारसम्म जारी रहने छ ।

नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गरिएको हो । प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्श मार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्याउन सक्नेछन् । त्यस्तै “उल्टो घर, डोम हाउस, ६ लाखको घरलाई प्रदर्शनीमा विशेष आकर्षणका रूपमा राखिएको छ ।








