दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थप १५ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश

चैत्र १९, २०८० | काठमाडौं

मदिरा सम्बन्धी लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

अदालतको पछिल्लो आदेश अनुसार मुख्यमन्त्री केजरीवाल यही अप्रिल १५ तारिख सम्म हिरासतमै रहनुहुनेछ । यस अघि अदालतले आजसम्म हिरासतमा राख्न अनुमति दिएको थियो ।

हिरासतका क्रममा उहाँको व्यवहार असहयोगी भएको भन्दै प्रहरीले अप्रिल १५ सम्मको लागी म्याद थपको अनुमति मागेको थियो । भारतमा यही अप्रिल १९ बाट ७ चरणमा लोकसभा निर्वाचन हुँदैछ ।

निर्वाचनको सम्मुखमा नियोजित रुपमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको उहाँको पार्टी आम आदमीको आरोप छ । मुख्यमन्त्री केजरीवाललाई गत मार्च २१ तारिखमा पक्राउ गरिएको हो । यसैबीच, मुख्यमन्त्री केजरीवालले आफ्नो शासन सत्ता हिरासतबाटै सञ्चालन गर्दै आउनुभएको छ । 


प्रतिक्रिया