एमपक्स प्रकोप फैलिएपछि डब्ल्यूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा

श्रावण ३१, २०८१ | काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अफ्रिकाका केही भागमा एमपक्स रोको प्रकोप फैलिएपछि यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अत्यधिक संक्रामक यो रोग पहिले मङ्कीपक्स भनेर चिनिन्थ्यो । 

प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा ४ सय ५० जनाको मृत्यु भएको छ भने अब मध्य र पूर्वी अफ्रिकी राष्ट्रहरुमा फैलिरहेको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । 

यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्यु दर उच्च रहेको भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताउनु भएको छ । 

अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोगलाई फैलिनबाट रोक्न सकिने र जनताको जीवन बचाउन सकिने उहाँले बताउनुभयो । बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ ।

यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ । यसको लक्षण फ्लू जस्तो हुन्छ भने छालामा घाउ गराउँछ जुन घातक हुने डब्ल्यूएचओले जनाएको छ । यो रोग लागेका सयमध्ये चार जनाको मृत्यु भएको पाइएको छ । 


प्रतिक्रिया