परराष्ट्रमन्त्री खड्का चीन जाँदै

रेडियो कान्तिपुर संवाददाता

श्रावण २४, २०७९

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने औपचारिक भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खड्का आज अपरान्ह चीन जान लाग्नुभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । दुई मुलकबीच विश्वासको वातावरण निर्माण एवम् यसअघि भएका सम्झौता कार्यन्वयनको पाटोमा भ्रमण केन्द्रित हुने प्रवक्ता लम्सालको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि चीनतर्फ पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको हो । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका परराष्ट्रमन्त्री खड्काले समकक्षी वाङसँंग सान्तोङ प्रान्तको छिङतावोमा भेटवार्ता गर्ने कार्यक्रम छ । दुई मुलुकबीच सन २०१९ अक्टोवरमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई मुलुकबीच भएका सम्झौता कार्यन्वयनका विषयमा भ्रमण केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पछिल्लो समय विश्वमा देखिएको शीत युद्धको संकेतकै परिस्थितिका बीच निकट छिमेकीलाई विश्वासमा लिएर अघि बढ्ने वातावरण बनाउने गरी भ्रमणको गृहकार्य भइरहेको परराष्ट्रको भनाइ छ । 

राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच २० बुँदे सम्झौता भएको थियो । लगत्तै कोभिड महामारी र नेपालको आन्तरिक राजनीतिमा फेरबदल आएपछि सो सम्झौता कार्यन्वयन हुन सकेको थिएन । पछिल्लो ३ वर्षमा सगरमाथाको उचाइ नाप्ने, चीनको छेन्दुमा नयाँ वाणिज्य दूतावास खोल्ने लगायतका काम भएको छ । तर दुवै देशले अघि बढाउने भनिएको बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआइमा भने प्रगति हुन सकेको छैन । 


प्रतिक्रिया