सहकारीको रकम अपचलनको बिषयमा संसदीय छानबिन समिति बनाउन कांग्रेसको अडान कायमै

वैशाख २५, २०८१

संघीय संसदको बजेट अधिवेशन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनको बिषयमा छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडानलाई यथावत् राखेको छ । यही वैशाख २८ गते शुक्रवार अधिवेशन शुरु हुने भएकाले दलहरुबीच सहमति खोज्न सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा प्रतिपक्षी कंग्रेसले सहकारी हिनामिनामा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने समेत संलग्न रहेको आरोप लगाउँदै छानविन समिति गठनको मागलाई निरन्तरता दिएको हो । बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको रकम हिनामिनाबारे आफूहरुको धारणा यथावत् रहेको बताउनुभयो ।

यता, सत्तारुढ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने सहकारीबारे संसदीय छानविन समिति बनाउने विषयमा असहमति जनाएका छन् । कांग्रेसले व्यक्ति केन्द्रीत समिति बनाउन माग गरेको भन्दै दुबै दलले असहमति जनाएका हुन् । सभामुखसँगको छलफलपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेषको बिषयमा संसदीय समितिको माग गरेकाले त्यसो गर्न सम्भव नभएको बताउनुभयो ।

त्यस्तै गृहमन्त्री लामिछानेले सहकारीको सम्बन्धमा संसदीय छानबिन समिति बनाउनुपर्ने आधार नै नभएको दावी गर्नुभयो ।

सहकारीको बिषयले महत्व पाउँदा प्रतिनिधिसभाको हिउँदे अधिवेशन प्रभावित भएको थियो । दलहरुको अडानका कारण बजेट अधिवेशन समेत प्रभावित हुने देखिएको छ । 


प्रतिक्रिया