जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्री दाहालको तयारी

जेष्ठ ४, २०८१ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो । जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले संविधानको धारा १ सय को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।

जनता समाजवादी पार्टी, नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने भएको हो ।

यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते १५७ सांसदको विश्वासको मत पाउनुभएको थियो । २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालको पक्षमा सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा मत व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।  


प्रतिक्रिया