मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाईदै

वैशाख २, २०८२ | काठमाडौं

भक्तपुरको मध्यपुर थिमिका नेवार समुदायले विभिन्न देवी–देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाउँदै छन् । बिस्का जात्राको अवसरमा मनाइने मध्यपुर थिमिवासीको सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ । 

सिन्दुर जात्रामा थिमि क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरेपश्चात नगर परिक्रमा गर्दै मनाउने प्रचलन छ । तर विवादका कारण २०५६ सालदेखि नगदेश, बोडे, टिगनीको खट बालकुमारी मन्दिर परिक्रमा गर्न नआएपछि अहिले १९ वटा खट मात्रै मन्दिर परिक्रमा गरेर यो जात्रा मनाइँदैछ । 

परम्परा अनुसार नै देवता लाय्कू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

सिन्दुर जात्राको क्रममा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । 

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ । यस क्रममा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका ’देवता’को नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजा सहित सिन्दुर जात्रा मनाईन्छ । 

मध्यपुर थिमि बोडेको ७, टिकनी÷नगदेश १÷१ र थिमिको २३ सहित ३२ खटसहित सिन्दुर जात्रा मनाउने गरिन्छ । बोडे, नगदेशमा भने छुट्टाछुट्टै खट निकाल्ने गरिन्छ । मूल देवतालाई खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ ।

त्यसैगरी आज दिउँसो मध्यपुर थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाईन्छ । सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो । नयाँ वर्षको बैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि २८ वर्षीय श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनु हुने भएको हो । नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गर्नु भएको थियो । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनु भएको थियो । 


प्रतिक्रिया