सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा समस्या हुँदैनः गृहमन्त्री लेखक

जेष्ठ ३, २०८२ | काठमाडौं
सरकारले सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा निर्वाध रुपमा हेलिकप्टर उडान गर्न आग्रह गरेको छ । सगरमाथाको आधार शिविर क्षेत्रको निरीक्षणका क्रममा गृहमन्त्री रमेश लेखकले हेलिकप्टर उडानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । आधार शिविर क्षेत्रमा हिमाल आरोहणका क्षेत्रमा काम गर्दै आएका व्यवसायी लगायत सारोकारवाला सहभागी कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले पर्यटकीय गतिविधि चलायमान बनाउन तथा पर्यटकहरुको उद्धारका लागि हेलिकप्टर उडान गरिने बताउनुभयो ।
फरक प्रसँगमा गृहमन्त्री लेखकले आफूहरु सरकारको स्थायित्वमा केन्द्रीत भएको बताउनुभयो । पछिल्लो केहि समय यता सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका सांसदले सरकारको विषयमा एक–आपसमा परस्पर विरोधी अभिव्यक्ति दिइरहेका बेला लेखकले सो कदमको बचाउ गर्नुभएको हो । राजनीतिक रुपमा सरकार सफल भएको उहाँको दाबी छ ।
यसैबीच गृहमन्त्री लेखकसँगै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले समेत व्यवसायीको समस्या समाधानका लागि सरकारले कानुनी व्यवस्था गर्ने तयारी गरेको बताउनुभएको छ । सरकारले पर्यटन नीति बनाएर समस्या समाधानको पहल गरिरहेको उहाँको भनाइ छ ।
यस वर्षको हिमाल आरोहण सिजन सुरु भएको समयमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकनका मन्त्रीद्वय लेखक र पाण्डे आधारशिविर क्षेत्र पुग्नुभएको हो । पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा आरोहणका लागि ४५ आरोही समूहका ८४ महिला र ३ सय ७२ पुरुष गरी कूल ४ सय ५६ आरोहीले अनुमति लिएका छन् ।