च्यातिएका मतपत्र गन्न मतगणनास्थलको ताला खोलियो

जेष्ठ १८, २०७४ | चितवन

च्यातिएका मतपत्रको लगत संकलनका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले भरतपुर महानगरपालिकाको मतगणनास्थलमा लगाएको ताला खोलेको छ । निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या पठाउन निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज ताला खोलेको हो ।

च्यातिएका मतपत्रको संख्या, अवस्था र तितरवितर रहेका मतपत्र बारे अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई आजै प्रतिवेदन पठाउने तयारी गरेको छ ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयको निर्देशनअनुसार निर्वाचन कार्यालयले महानगरपालिकाका प्रमुख उपप्रमुखका उम्मेद्वार,  राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको बैठक बसी ताला खोल्ने निर्णय गरेको थियो ।

च्यातिएका मतपत्र गन्न ताला खोलिएपछि मतगणनास्थलमा सुरक्षाकर्मीको उपस्थिति भने बढाईएको छ । गत आइतवार राती मतगणनाका क्रममा दलका प्रतिनिधिले मतपत्र च्यातेपछि सो स्थल सिल गरिएको थियो ।

 


प्रतिक्रिया