नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग अवरुद्ध

भाद्र १८, २०७४ | चितवन

 

लगातारको बर्षाले खसेको पहिरोका कारण  हिजो साँझदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै  खुल्न सकेको छैन ।  सो सडकखण्ड अन्तर्गतका कालीखोला, मुग्लिनको मुख, चारकिलो भालुढुङ्गा, जलबिरे र चोरखोला लगायतका स्थानमा पहिरो खसेपछि हिजैबाट सडक अवरुद्ध छ ।

बिहानैदेखि पहिरो पन्छाउने कार्य जारी  रहेको मुग्लिन  नारायणगढ सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । सो सडकमा पहिरो खसेका ठाउँमा लेदो बगिरहेको र पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो परिरहेको खनालले बताउनुभयो । खनालका अनुसार ५ किलो र जलबीरेको विच भागमा पर्ने तुइनमा ठूलो ढुंगा खसेकाले फुटाएर मात्र सडक सञ्चालनमा आउने भएकाले आज आधा दिनसम्म सडक अवरुद्ध हुनेछ ।

स्तरोन्नतीका क्रममा रहेकाले पहिरो खस्ने क्रम बढी हुँदा रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । रातभर रोकिएर बसेका सवारी साधन बिहान पनि पहिरो खसेर सडक अवरुद्ध भएपछि अलपत्र परेको सहकर्मी बिमल खतिवडाले जनाएका छन् ।

यसैबीच निरन्तरको बर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्ग पनि हिजैसाँझदेखि अवरुद्ध छ । राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर  लगेर बाटो पन्छाउने काम शुरु गरेको  सहकर्मी हरिहरसिंह राठौरले जनाएका छन् । 


प्रतिक्रिया