बेथानमा लगाएको निषेधाज्ञा विरुद्ध वाम गठबन्धको प्रदर्शन

मंसिर ५, २०७४ | रामेछाप

-  रामेछापको बेथानमा पूर्व निर्धारित कार्यक्रम गर्न स्थानीय प्रशासनले निषेध गरेपछि वाम गठबन्धनले सदरमुकाम लगायत विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । निर्वाचनको प्रचार प्रसारका लागि मतदातासंग जाने संवैधानिक अधिकार माथि स्थानीय प्रशासनले रोक लगाउने कदम सह्य नहुने भन्दै गठबन्धनका नेताहरुले प्रशासनको आलोचना गरे ।

विरोध कार्यक्रमका वक्ताहरुले प्रशासन नेपाली काँग्रेस नेतृत्वको सरकारको आडमा वाम गठवन्धनका कार्यक्रम रोक्नका लागि उद्यत भएको आरोप समेत लगाएका थिए । वाम गठबन्धनले बेथानमा जनसभा गर्ने भएपछि कांग्रेसले पनि सोहि दिन कार्यक्रम राखेको भन्दै जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले बेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

दंगाग्रस्त क्षेत्र घोषणा गरेको केही घण्टा पछि नै प्रशासनले पूर्व निर्णयलाई सुधार गरी निषेधित क्षेत्र भनेको थियो । दुवै कार्यक्रम एकै स्थलमा तय गरेकोले शान्ति सुरक्षामा खलल पर्ने आंकलन गरी प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेले बताउनुभयो ।

प्रशासनले बेथानमा सभा जुलुस गर्न नदिने भएपछि वाम गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक देवशंकर पौडेलले सोमबार अपरान्ह विज्ञप्ति जारी गरी प्रशासनले जारी गरेको निषेधाज्ञा तत्काल फिर्ता लिन र उम्मेदवारले मतदाताको घर दैलोमा पुगेर मत माग्ने अधिकारको सुनिस्चितता गर्न माग गरेका थिए ।

पौडेलको विज्ञप्तिमा प्रशासनको रबैयाले स्थिति भड्किएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनी समेत दिइएको छ । शान्तिपूर्ण निर्वाचन अभियान संचालन भइरहेको बेलामा हठात निषेधाज्ञा लगाउने कार्यको गठबन्धनले भत्र्सना एवं निन्दा गरेको छ । 

माओवादीको प्रमुख आधार इलाका बन्दै आएको बेथानका केही युवा कांग्रेस प्रवेश गरे संगै वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवं राज्य मन्त्री श्यामकुमार श्रेष्ठलाइ बेथान प्रवेशमा निषेध घोषणा गरेका थिए । उनीहरुको विरोधका बाबजुद शक्ति प्रर्दशन सहित बेथानमा आज कार्यक्रम गर्न जाने श्रेष्ठको तयारी थियो । गठबन्धनका तर्फबाट प्रदेशसभामा उम्मेदवार भएका एमाले नेता कैलाश ढुंगेल भने बेथान पुगेका थिए ।

ढुंगेलले निर्वाध रुपमा मतदातासंग मत मागेका थिए । माओवादी केन्द्रका पूर्व सभासद तारानारायण श्रेष्ठले बेथानका नागरिकहरु वाम गठबन्धनकै पक्षमा रहेको बताउंदै केही गुण्डाहरुका कारण उक्त समस्या श्रृजिएको बताउंछन । वेथानमा गठवन्धनका उम्मेदवारलाई निषेध गर्ने कुरा त्याहाँका आम नागरिक भन्दा पनि कांग्रेसले भाडामा ल्याएका केही गुण्डाले गरेको उनको आरोप छ । 

 


प्रतिक्रिया