अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत फेला

जेष्ठ २४, २०८२ | अमेरिका

अमेरिकाको भर्जिनिया राज्यको मनासस सहरमा एकै परिवारका चार जना नेपाली मृत फेला परेका छन् । स्थानीय समय अनुसार बिहीबार सिटी अफ मनासस पार्क पुलिस डिपार्टमेन्टले एकै परिवारका चार जना नेपालीलाई मृत अवस्थामा फेला पारेको हो । 

घटनाबारे शुक्रबार बिहान ९ बजे प्रेस विज्ञप्ति जारी गर्दै उनीहरु सबैको गोली प्रहारबाट मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ । प्रहरीले मृत्यु हुने बालक र बालिकाको नाम भने उल्लेख गरेको छैन ।

उनीहरु लानाए लेनको ९४०० ब्लकको अपार्टमेन्टमा बस्दै आएका थिए । प्रहरीले अपार्टमेन्टमै मृत अवस्थामा फेला पारेको थियो । 

उनीहरुमाथि गोली प्रहार गर्नेको तीब्र खोजी र घटनाबारे विस्तृत अनुसन्धान सुरु भइसकेको प्रहरीले दाबी समेत गरेको छ । ‘आत्महत्या वा हत्या भएकोबारे कारण यकीन गर्न सकिएको छैन । हामी अनुसन्धानमा जुटेका छौं’, प्रहरीले विज्ञप्ति मार्फत भनेको छ, ‘घटनास्थलमा एउटा बन्दुकसमेत फेला परेको थियो । शवहरु मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा राखिएको छ ।’ 

गत वर्ष भर्जिनियामै नेपाली महिला ममता काफ्लेको मृत्यु भएको थियो । ममताको मृत्यु आशंकामा उनको पति नरेश भट्टविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । प्रहरीले नरेशमाथि निरन्तर अनुसन्धान समेत गरिरहेको छ ।


प्रतिक्रिया