रातो मत्स्येन्द्रनाथको रथ जात्रा शुरु

वैशाख ६, २०७५ | ललितपुर

मुलुकको सबैभन्दा लामो रातो मत्स्येन्द्रनाथको रथ जात्रा शुरु भएको छ । रथलाई पुल्चोकबाट बाजागाजाका साथ जात्रा गर्दै तानेर पाटन गा: बहाल पुर्‍याइएको छ । टंगल टोलमा बनाइएको जट्टाधारी लोकेश्वर नामबाट प्रसिद्ध मीननाथको रथ पनि तानेर गा: बहाल पुर्‍याइएको छ । रथ जात्रामा दुई जना ब्यञ्जनकार इन्द्रबाजा भन्ने ‘काहा’ फुकेर अंग्रपक्तिमा थिए । त्यसपछि शार्दूलजंगको पल्टन र धिमेबाजाका साथै अरु सांस्कृतिक बाजागाजा थियो । रथ जात्रा हेर्न पुल्चोकमा भक्तजनको ठुलो भीड लागेको थियो ।

संस्कृतिविद् हरिराम जोशी भन्छन्, ‘पुल्चोक–गा:बहाल प्रथम चरणको रथयात्रा मत्स्येन्द्रनाथलाई भारत असमको कामरुप कामाक्षबाट नेपाल ल्याउनमा मुख्य भूमिका खेलका कान्तिपुरका तत्कालिन तान्त्रिक बन्धुदत्त आचाजुले मनाएको भन्ने कथन छ ।’

रथ यात्रा शुरू भएको दिन पुल्चोकका बासिन्दाले जात्रा मनाउँदैनन् । तिनीहरूले लगनखेल थती टोलबाट जावलाखेल तर्फ तान्दा जात्रा मनाउने गर्छन् । वैष्णवीहरूले विष्णु, शैवहरूले शिव, शाक्तहरूले शक्ति, सौरहरूले सूर्य, ब्राह्मणहरूले लोकेश्वर र बौद्धहरूले करुणामयका रूपमा मानिने सिद्धेश्वरलाई शुक्रबार गा:बहालबाट नुग: सुन्धारातर्फ तानिनेछ ।

संस्कृतिविद जोशी भन्छन्, ‘गा: बहालबाट नुग:सम्मको रथ यात्रा ललितपुरका तत्कालिन राजा श्रीनिवास मल्लले चलाएको हो ।’ उनका अनुसार राजा मल्लले नुग: टोलको विकास गरी नेपाल संवत् ७८१ (विस १७१८) देखि चलाएको मुनीन्द्ररत्न बज्राचार्यले ‘नेपालका चार प्रसिद्ध करुणमय लोकेश्वर’ पुस्तकमा उल्लेख गरेका छन् । ‘पुस्तककमा नुग: मा मत्स्येन्द्रनाथको ‘त्वाय् (मीत)’ रहेकाले उनलाई भेट गराउन त्यहाँ लगेको कुरा पनि उल्लेख छ,’ उनले भने ।

सुनधाराबाट चक्रबही, चक्रबहीबाट टंगल हुदै लगखेल पुर्‍याइनेछ । लगनखेलमा पुगेपछि रथको अगाडि भागमा राखिएको हयग्रव भैरवलाई एक/एक वटा राँगा, बोका, जिउँदो माछा र हाँसको फूल बलि चढाएर महाबलि पूजा गर्नुपर्ने प्रचलन छ । लगनखेलबाट तानेर नरिवल खसाल्ने ठाउँ थती टोल पुर्‍याइन्छ । थती टोल पुगेको भोलिपल्ट मत्स्येन्द्रनाथको पूजाअर्चना गरेर रथको टुप्पोबाट नरिवल खसालिन्छ ।

नरिवल खसाल्ने दिनमा मत्स्येन्द्रनाथको देवाली दिन पनि तोकिन्छ । तोकिएको दिनमा कुलदेवता पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिरमा मत्स्येन्द्रनाथ सहित बाराहीको देवली पूजा हुन्छ ।

यसैदिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जना जोशी (ज्योतिषी) बसेर रथलाई थती टोलबाट जावलाखेल तर्फ रथ तान्ने साइत हेरिन्छ । साइत नजुरेसम्म रथलाई थती टोलको चारदोबाटो राखिन्छ । साइत जुरेको दिन रथलाई तानेर जावलाखेल पुर्‍याइन्छ । र रथ जावलाखेल पुगेको चार दिन पछि भोटो जात्रा हुन्छ ।

भोटो जात्रा सकेपछि मत्स्येन्द्रनाथको रथलाई सानो खटमा बाकेर बुङमतीस्थित उनकै मन्दिरमा पुर्‍याइनेछ । मीननाथलाई तानेर टंगलस्थित चक्रबहिमा पुर्‍याएपछि गत बैशाख चारमा पुल्चोकमा रथारोहण गरि शुरू गराइएको मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।

जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले ओढाई राजकीय सम्मानसाथ मत्स्येन्द्रनाथको रथमा राखिएको थियो । रथजात्रा देखाउन ललितपुकी जीवित देवी कुमारीलाई हख:बहालको मूलढोकामा राखिएको थियो ।

नेपालमा बाह्र वर्षसम्म पानी नपरी अनिकाल परेकाले वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापू  भारत असमको कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको लोक कथन छ । नेपालको सर्वप्राचिन गोपाल राज वंशावलीमा पनि नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको यात्रा चलाए भन्ने उल्लेख छ ।

 


प्रतिक्रिया