अन्न र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण

वैशाख २३, २०७६ | ललितपुर

अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको आइतबार रथारोहण गरिएएको छ । रथारोहण गराउन दायाँ हातमा वरदमुद्रा र बायाँमा कमलको फूल लिएका रातो वर्ण, शिरमा बहुमूल्य हीरामोती जडित मुकुट, निधारमा टीका, कानमा रत्नजडित गहना, घाँटीमा सत्यनागको माला, हातमा चुरा, खुट्टामा कल्लीले सुसज्जित मत्स्येन्द्रनाथलाई पाटनको तः बहालबाट खटमा बोकेर बाजागाजाका साथ पुल्चोक पु¥याइएको थियो ।

रथारोहणअघि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको खड्ग पाटन तः बहालस्थित मत्स्येन्द्रनाथको मन्दिरभित्र लगेर भक्तपुर दरबारका तर्फबाट कोत पूजा गरिएको थियो । रथारोहण गराउन वैशाख कृष्ण औंसी आमाको मुख हेर्ने दिन शनिबार मत्स्येन्द्रनाथलाई साधना गरेर ल्याउन पूजा सामग्री सहित बज्राचार्य, पानेजु, मालिनीका साथ अन्य व्यक्ति देवीचौरस्थित कटुवाल दहमा पुगेका थिए । त्यहाँ रातभर जाग्राम बसेर मत्स्येन्द्रनाथलाई आह्वान गरेर दहको पानी र भमराको प्रतीकका रुपमा फूल कलशमा साधना गरेर ल्याइएको थियो ।

रातो मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिकिरण जोशीका अनुसार त्यही कलशको फूल आइतबार तः बहाल पु¥याएर मत्स्येन्द्रनाथको शिरमा राखिएको थियो । रथारोहणपछि अब अक्षय तृतीया मंगलबार रथजात्रा निर्विघ्न रुपमा सम्पन्न होस् र मृतकका आत्माले सजिलै वैतरणी नदी तरोस् भनेर मत्स्येन्द्रनाथको अगाडि गाई दान गरिनेछ ।

साथमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राज खड्गलाई पनि झल्लरवाला छत्रले ओढाई पाटन दरबार स्क्वायरबाट राजकीय सम्मानका साथ मत्स्येन्द्रबहालमा पु¥याएको थियो । परम्पराअनुसार औंसीपछिको चार दिन चतुर्थीमा रथ तान्ने परम्परा छ । 


प्रतिक्रिया