सरकारको काममा सुधारको खाँचो छ : नेता नेपाल

मंसिर २८, २०७६ | मोरङ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले सरकारले आफ्नो काममा सुधार गर्नुपर्ने खाँचो देखिएको बताउनु भएको छ । विराटनगरमा शनिबार पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको काम गराईमा निकै कमी कजमोरी रहेकाले जनताका गुनासा र आलोचनाहरु धेरै भएको बताउनुभयो ।

‘जनताले काम गरेर देखाई सुध्रिने मौका दिएको छ तर, जनभावना अनुसार सरकारले काम अघि बढाउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले कमी कमजोरीहरु खोजेर सरकारले सुधार गरी अघि बढ्नु पर्ने आवश्यक छ ।’ जनताले आफ्ना असन्तुष्टि उपनिर्वाचनको मत परिणामले प्रकट गरिसकेकोले सचेत भएर सरकारलाई अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।

‘उपनिर्वाचनमा धरान लगायतका यस जितेको ठाउँमा जित्न नसकेकाले खतराको घण्टी बजाएको छ,’ नेता नेपालले भन्नुभयो, ‘जनताले मतमार्फत सचेत गराइसकेकोले समस्या केलाएर समाधान हुने गरी सरकारले काम अघि बढाउनु पर्छ ।’

सरकारले सुधारका लागि सबैभन्दा पहिले जनताको कुरा सुन्नुपर्ने नेपालको भनाई थियो । जनताले भने अनुसारको विकास, सुशासन, नीति, नियमको क्षेत्रमा सुधार गरेर अघि बढनुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

सीमा विवादको विषयमा छलफलका लागि दूत पठाउने बारे सरकारको निर्णय र पत्राचार गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको नेता नेपालले बताउनुभयो । लिपुलेक लगायतका सीमा विवाद भएका ठाउँको बारेमा नेपालसँग थुप्रै तथ्य र प्रमाण रहेकोले त्यसकै आधारमा भारतसँग वार्ता गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया