खोकनामा जात्रा सुरु, स्वास्थ्य मापदण्ड अपनाएर रुद्रायणी नाच

कार्तिक ३, २०७७ | ललितपुर

कोभिड–१९ महामारीका कारण उपत्यकाका अधिकांश जात्रापर्व स्थगित भए । तर, खोकनाको रुद्रायणी नाच भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड भित्र रहेर नचाइने भएको छ । ललितपुर महानगरपालिका–२१ खोकनाका वडाध्यक्ष रविन्द्र महर्जन, सरोकारवाला गुठीयार, स्थानीय बुद्धिजिवीसहितको बैठकले यस्तो निर्णय गरेको हो । 

खोकनाबासी दसैं मनाउँदैनन् । घटस्थापनामा जमरा पनि राख्दैनन्, दशमीमा टीका पनि लगाउँदैनन् । महाअष्टमी, महानवमी र विजया दशमीदेखि पूर्णिमासम्म खोकनामा अरु कुनै रौनक हुँदैन । उनीहरु दशैंको सट्टा इष्ट देवताको रुपमा मानिने रुद्रायणी भवानी देवीको स्थानीय सिकाली जात्रा मनाउने गर्छन् । ललितपुर महानगरपालिका–२१ वडाध्यक्ष महर्जनले जात्रासँग सम्बन्धित गुठीयारहरुको सल्लाह अनुसार नाचलाई यथावत रुपमा निरन्तरता दिने निर्णय भएको बताउनुभयो ।

‘गुठीयारहरुले एक पटक नाच रोकेपछि सधाका लागि बन्द गर्नुपर्ने नाचको नियम रहेको सुनाए,’ उहाँले भन्नुभयो, ‘यसबारेमा सांसद, पुलिस प्रशासनलाई जानकारी दिने तयारी भइरहेको छ ।’ उहाँले जात्रामा पाहुनालाई निमन्त्रणा र भीडभाड नगर्ने, नाचमा अत्याआवश्यक गुठीयारहरु मात्र सम्मिलित भएर सम्पन्न गरिने जानकारी दिनुभयो । ‘सीमित बाजागाजा मात्र उपस्थित गराइनेछ,’ उहाँले भन्नुभयो, ‘यसबारेमा माइकिङ र सूचना टासेर जानकारी गराइरहेका छौं ।’

उहाँले गुठीयारहरुलाई स्यानिटाइजर, मास्क, ग्लोब्सको व्यवस्था गरिसकेको जानकारी दिनुभयो । रुद्रायणी गुठीका बैदार बेखनर महर्जनले नाच सांस्कृतिक बाजागाजा सहित जात्रा गर्नुसँग मात्र सम्बन्धित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देश रक्षा गर्ने यहाँको परम्परा पनि हो ।’ 

खोकनामा साना/ठूला गरेर ७ वटा गुठी छन् । मुख्य त:गु, सलागु र ज:गु गरेर तीन गुठी छन् । प्रत्येक गुठी रुद्रायणी मन्दिरसँग सम्बन्ध राख्छ । सोमबार तीनै गुठीबाट एक/एक वटा राँगा ‘ढोकासी चो फल्चा’ (पाटी) अगाडि बलि दिई बेलुका सिकाली देवीलाई प्रसाद चढाएका छन् । 

मंगलबार गुठियारहरु बसी प्रसाद खाई गुठीमा ‘छोयला बु’ मनाउँछन् । ‘छोयला बु’ नेवारहरुको जात्रा मनाउनुअघि अनिवार्य मनाउने चाड हो । यसदिन राति तीनै गुठीमा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने चलन छ ।

पञ्चमीको दिन मूल जात्रा भनी खट जात्रा हुन्छ । षष्ठीको दिन रुद्रायणी गुठीयार सिकाली चौरमा मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा धार्मिक मान्यता अनुसार अश्वमेघ यज्ञमा सहभागी हुन्छन् । चौरमा नृत्य मार्फत देवगणहरुले यज्ञमा सेती देवी होमिँदा वीरभद्र र महाकाली जागी यज्ञ विध्वंस गरेको दृश्य देखाउने गर्छन । 

सप्तमीका दिन खोकना तल्लो लाछी टोलको डबलीमा नाच देखाउने प्रचलन छ । उक्त नाचलाई महालक्ष्मीले महिषासुरलाई बध गरी खुसियाली मनाएको नाच (लसता प्याँख) का रुपमा लिइन्छ । जुन जात्राको मुख्य रौनकका रुपमा लिइन्छ ।


प्रतिक्रिया