मुअब्जा नपाएको भन्दै किसानले रोके रेलवेको काम

माघ २९, २०७७ | रौतहट

रौतहटको चन्द्रपुर नगरपालिका–८ का स्थानीयले मुआब्जाको रकम नपाएको भन्दै आज रेलवे निर्माणको काम रोकेका छन् । ठूलो संख्यामा स्थानीय भेला भएर रेलवे कर्मचारी र ठेकेदारको सवारीसाधन घेर्न पुगेका थिए । स्थानीयको अवरोधपछि रेलवेको काम रोकिएको छ । मेची–महाकाली रेल मार्गको बर्दिबास–निजगढ खण्डस्थित रौतहटको सन्तपुर नजिक ४ नम्बर प्याकेज अन्तर्गत पर्ने जग्गाधनीले मुआब्जा नपाएको भन्दै काम रोकेका हुन् । सो प्याकेज लामा गोल्डेन बिरुवा जेभिले ठेक्का पाएको हो ।

 जग्गाधनीले मुआब्जाको रकम पाएका छैनन् । तर ठेकेदारले धमाधम काम सुरु गरेपछि उनीहरु आक्रोसित भएका हुन् । केहीको एक महिना अघि नै मालपोतलबाट रेलवे विभागको नाममा जग्गा नामसारी भईसकेको भएपनि हालसम्म मुआब्जा पाएका छैनन् । समयमा मुआब्जा नपाएको भन्दै तीन महिना अघि किसानले गहुँ, मकै, मसुरो लगायत बाली लगाएका थिए ।

 अहिले बाली भित्र्याउन नपाउँदै रेलवेको काम धमाधम सुरु भएको छ । रेलवे विभागका डिभिजनल इन्जिनियर देवेन्द्र साहले बजेट अभावका कारण मुआव्जा वितरणमा ढिलाई भएको स्वीकार्नुभयो । अबको एकसाता भित्र रकम निकासा हुने भन्दै उहाँले त्यसपछि भुक्तानी प्रक्रिया थाल्ने बताउनुभयो । आयोजना प्रभावित ८० प्रतिशत स्थानीयको मुआब्जा वितरण भईरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया