१२ देशका राजदूत पोखरामा : पर्यटक स्वागतमा तम्तयार रहेको सन्देश

गण्डकी प्रदेश सरकारको निमन्त्रणामा आइतबार पोखरा आएको विभिन्न देशका राजदूत, कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिलाई विमानस्थलमा स्वागत गरिँदै । तस्बिर : दीपक परियार/रेडियो कान्तिपुर । 

आश्विन १०, २०७८ | पोखरा

गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न १२ देशका राजदूत आइतबार पोखरा आएका छन् । कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधि सहित २५ जनाको टोली विश्व पर्यटन दिवसका आवसरमा ३ दिने पोखरा भ्रमणमा आएको हो । 

परराष्ट्र मन्त्रालयको संयोजनमा आएको टोलीमा यूएई, कतार, फिनल्यान्ड, उत्तर कोरिया, साउदी अरब, श्रीलंका, दक्षिण कोरिया, थाइल्यान्ड, बंगलादेश, इजिप्ट, जर्मनी र मलेसियाका राजदूत सहभागी छन् । सार्कका महासचिव, संयुक्त राष्ट्रसंघकी रेसिडेन्ट कोअर्डिनेटर, इसिमोडका महानिर्देशक, अन्तर्राष्ट्रिय आप्रवासी संगठनकी चिफ अफ मिसन, यूएनएड्सका कन्ट्री डाइरेक्टर, यूएनडीपीका प्रतिनिधि, युनेस्कोका प्रतिनिधि, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टरको सहभागिता छ । 

टोलीलाई गण्डकी प्रदेश सरकार, पर्यटन बोर्ड, पोखरामा रहेका पर्यटनसँग सम्बन्धित संघसंस्थाले पोखरा विमानस्थलमा स्वागत गरे । सो टोली आइबार साँझ प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको रात्रिभोजमा सहभागी हुनेछ । 

विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का दिन सोमबार बिहान टोलीले कास्कीकोटमा रहेको एसियाकै पहिलो अपांगमैत्री पहुँचयुक्त पदयात्रा मार्गमा हाइकिङ गर्नेछ । शाहवंशको उद्गमस्थल कास्कीकोट दरबार, कश्यपताल हुँदै सराङकोटसम्म हाइकिङ हुने छ । हाइकिङको संयोजन ट्ेरकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टरले गरेको छ ।

सोमबार नै पोखराका मुख्य पर्यटकीय गन्तव्यको भ्रमण टोलीले गर्ने छ । बेलुका ५ बजेबाट रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा लेकसाइडमा हुने मिनी सडक महोत्सवमा टोली सहभागी हुनेछ । 

प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले गण्डकी प्रदेशको पर्यटन प्रवर्धन नै भ्रमणका मुख्य उद्देश्य रहेको बताउनुभयो । ‘गण्डकी प्रदेशमा पर्यटनका गतिविधि खुला छन् भन्ने सन्देश दिन कूटनीतिक व्यक्तित्वलाई ल्याएका हौं,’ उहाँले भन्नुभयो, ‘यसले पर्यटन व्यवसायीलाई निरन्तर व्यवसाय सञ्चालन गर्न प्रोत्साहन मिल्छ ।’

टोलीमा चीन, भारत र अमेरिकाका राजदूत भने सहभागी छैनन् । उनीहरुलाई समेत निमन्त्रणा गरिएको भएपनि समय अभावका कारण समावेश नभएको सचिव पौडेलले जानकारी दिनुभयो ।प्रदेश सरकारले पोखरामा रहेका पर्यटनसँग सम्बन्धित संघसंस्थासँगको सहकार्यमा भ्रमण कार्यक्रम बनाएको छ । 

भ्रमणले पोखरा खुल्लै रहेको र व्यवसायी पाहुनालाई सेवा दिन तम्तयार रहेको सकारात्मक सन्देश पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । ‘पोखरा सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय पर्यटकमाझ जाओस् भन्ने उद्देश्यले सरकार र निजी क्षेत्रको सहभागितामा यो कार्यक्रम बनेको हो,’ उहाँले भन्नुभयो, ‘यसले विदेशी पर्यटक भित्रयाउँने वातावरण बन्छ ।’ 

यद्यपि, यस वर्ष भने आन्तरिक पर्यटककै भर पर्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईले बताउनुभयो । चिनियाँ पर्यटकले अझै ६ महिना भ्रमण नगर्ने र भारतीय पर्यटक भित्र्याउन सीमा नाका खुलाउने निर्णय भएपनि कार्यान्वयन नभइसकेकाले यी दुई देशबाट पर्यटक आउन समय लाग्ने उहाँको भनाइ छ ।

पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीराम भण्डारीले भ्रमणमा सहभागी राजदूत मार्फत ती देशमा पोखरा खुला र सुरक्षित रहेको सन्देश पुग्ने बताउनुभयो । ‘कोरोना महामारी अघि यी देशबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भइरहेको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले महामारी कम भइसकेको अवस्थामा फेरि विदेशी पर्यटक बोलाउन सकिन्छ ।’ तीन दिनको भ्रमण सकेर टोली मंगलबार फर्कने छ ।


प्रतिक्रिया