वन्यजन्तुमैत्री छैनन् पूर्वाधार, चालू आवको ६ महिनामा २१ गैंडा मरे

माघ १९, २०७८ | काठमाडौं

पछिल्लो ५ वर्षको सरकारी तथ्याङ्क हेर्ने हो भने नेपालमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको मृत्युदर बढ्दो छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार संरक्षित क्षेत्र भएर निर्माण गरिएका पूर्वाधारका कारण दुर्घटनामा परेर बर्सेनि एक सय भन्दा बढी वन्यजन्तुको मृत्यु हुने गरेको छ । 

गत वर्ष सार्वजनिक भएको गणनाको नतिजा अनुसार पर्सादेखि पश्चिमका निकुञ्ज र वन क्षेत्रमा जम्मा ७ सय ५२ गैंडा भेटिएका थिए । तीमध्ये चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा सबैभन्दा धेरै ६ सय ९४ गैंडा छन् । 

चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा साउनयता हालसम्म २१ गैंडा मरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा २५ वटा, २०७४/७५ मा २६ गैंडा मरेका थिए । 

आर्थिक वर्ष ०७५/७६ मा मात्रै प्राकृतिक कारणबाट चितवन निकुञ्जमा ४३ वटा गैंडा मरेका थिए । त्यही अवधिमा बर्दियामा जम्मा दुई वटा गैंडा मरेका थिए । आर्थिक वर्ष २०७६/७७ मा चितवनमा १० गैंडा मरेका थिए । 

चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीमा परेर गत साता दुर्लभ एकसिंगे गैंडा मरेको घटना चरम लापरबाहीको नमूना भएको विज्ञहरुको भनाइ छ । 

निकुञ्ज भित्र पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सम्बन्धी मापदण्डको पालना नगरिएको पाइएको गैंडा विशेषज्ञ डा. नरेश सुवेदीले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रसँग जोडिएका सडक बाहेकको क्षेत्रमा पनि सवारी दुर्घटनामा ठूलो संख्यामा वन्यजन्तुको मृत्यु हुने गरेको छ । 

चितवन राष्ट्रिय निकुञ्ज नेपालमा एकसिंगे गैंडाको मुख्य बासस्थल हो । तर, चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीले गैंडा मार्ने समस्या घटेपनि प्राकृतिक र दुर्घटनावश हुने मृत्यु बढ्दो छ । 

अध्ययन अनुसार चितवन निकुञ्जमा बर्सेनि दुई प्रतिशतका दरले गैंडाको आहार, घाँसे मैदान, पानीका घोल र तालतलैया विनाश भइरहेका छन् । जसका कारण वन्यजन्तुको संरक्षणमा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयले गत असोजमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड सहितको निर्देशिका २०७८ मन्त्रिपरिषदमा पेस गरेको थियो । सिंचाइ, बाँध, सडक, रेल, पाइपलाइन, तटबन्ध लगायत संरचना वन्यजन्तुमैत्री बनाउनुपर्ने सो निर्देशिका विगत ४ महिनादेखि मन्त्रिपरिषदमै थन्क्याइएको छ । यसबाट सरकार वन्यजन्तुको संरक्षणमा संवेदनशील हुन नसकेको प्रष्ट हुन्छ । केही व्यक्तिको निजी स्वार्थ र सरकारी निकायबीचको समन्वय अभावका कारण समस्या सिर्जना भएको गैंडा विशेषज्ञ डा.सुवेदीको तर्क छ ।

सवारी दुर्घटनामा वन्यजन्तुको मृत्यु हुने क्रम अन्त्य गर्न दीर्घकालीन सोचका साथ पूर्वाधार निर्माण गर्नु जरुरी रहेको निकुञ्जको भनाइ छ । भरतपुरमा खाल्डोमा फसेर गैंडा मरेको घटनाबाट पाठ सिक्दै वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो ।

वन्यजन्तु लगायत विविधता संरक्षणको लागि सरकारले निकुञ्ज, संरक्षित क्षेत्र भनेर स्थान तोकेको छ । तर, यीनै क्षेत्रमा निर्माण गरिएका सडक लगायत पूर्वाधारका वन्यजन्तु मैत्री नहुँदा जोखिम बढ्दो छ । यस्ता क्षेत्र र जंगल आसपासका सडकलाई वन्यजन्तुमैत्री नबनाउँदा बर्सेनि ठूलो संख्यामा जंगली जनावरहरु मर्ने गरेका छन् । संरक्षित क्षेत्रका निम्ति विभिन्न कार्यक्रम मार्फत बर्सेनि ठूलो खर्च गर्ने सरकारले वन्यजन्तुको जीवन जोगाउन पूर्वाधार निर्माणका पक्षमा उत्तिकै ध्यान दिन आवश्यक भइसकेको छ । 


प्रतिक्रिया