बिर्तामोड–भद्रपुर सडक निर्माणमा ढिलाई गर्ने ठेकेदार कम्पनीलाई कारबाही

पुस २१, २०७९

सम्झौता अनुसार निर्माणको काम नगरेको भन्दै बिर्तामोड–भद्रपुर सडक निर्माणको ठेकेदार कम्पनीलाई सडक डिभिजन दमकले कारबाही गरेको छ । सम्झौता अनुसार ७ महिना मात्र बाँकी रहँदा ठेकेदार कम्पनीले ३० प्रतिशत पनि सडक निर्माण नगरेको भन्दै सडक डिभिजनले ठेकेदार कम्पनीलाई काम नगर्नुको लिखित स्पष्टिकरण माग गरेर पहिलो चरणको कारबाही गरेको हो । बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलव ४१ किलोमिटर सडक निर्माणको ठेक्का काठमाडौंको एम/एस कन्टेक प्रालिले लिएको छ । 

२०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थाथ ३० महिनामा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । ठेक्का लिएको २३ महिना बितिसकेपनि ठेकेदार कम्पनीले सडक निर्माणको काम करिब २५ प्रतिशत मात्रै सम्पन्न गरेको छ । सडक निर्माणमा ढिलाई गरेको भन्दै सडक डिभिजन दमकले १५ दिने सूचना जारी गरी ठेकेदार कम्पनीसंग निर्माणको काममा ढिलाई हुनुको लिखित जवाफ माग गरेको हो । सडक डिभिजन दमकका प्रमुख सुरेश पौडेलले स्पष्टिकरण चित्तबुझ्दो भएन भने कानुनअनुसार थप कारबाही गर्न समेत हामी तयारी अवस्थामा रहेको उल्लेख गर्नुभयो । बिर्तामोड–भद्रपुर सडक जिल्लाका प्रशासनिक कार्यालयहरु रहेको चन्द्रगढी जाने मुख्य सडक हो । 

दैनिक सयौंको संख्यामा सवारीसाधन सञ्चालन हुने सो सडक भत्किएर खाल्डैखाल्डामा परिणत भएको छ । सो सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन दमकका लेखा अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । निर्माण कम्पनीको तर्फबाट खटिएका साइट इन्जिनियर हरिश थापाले भने प्राविधिक कठिनाईका कारण काममा ढिलाई भएको बताउनुभयो । 


प्रतिक्रिया