पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा सीमा स्तम्भ मर्मत सुरु

माघ २३, २०८० | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीमा नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा पर्ने सीमा स्तम्भको मर्मत तथा रङ्रोगन गर्ने काम सुरु भएको छ । 

नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त रुपमा मर्मत र रङ्रोगनको काम सुरु गरेको जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण हेडक्वाटर प्रमुख एसपी धीरेन्द्रराज न्यौपानेले बताउनुभयो । 

सोमबार एक कार्यक्रमबीच नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त रुपमा स्तम्भ नम्बर ५ सय ७ बाट सीमा स्तम्भ मर्मतको काम सुरु गरेका हुन् । 

पश्चिम नवलपरासीमा नेपाल–भारत दशगजा क्षेत्रमा १६ वटा सीमा स्तम्भ रहेका छन् । जसमा १३ वटा मुख्य र ३ वटा सहायक स्तम्भ छन् । 

नेपालले बिजोर नम्बरको स्तम्भ मर्मत गर्ने छ भने भारतले जोर नम्बरको स्तम्भ मर्मत गर्नेछ । जिल्लामा ४१ किलोमटिर क्षेत्र भारतीय सिमानासँग जोडिएको भए पनि २७ किलोमिटरमा मात्र सीमा स्तम्भ रहेको छ । 

सुस्ता गाउँपालिका–५ को नारायणी पारीको क्षेत्रमा सीमा स्तम्भ छैन् । सीमा स्तम्भ नभएका कारण नेपाल र भारतबीच पटक पटक विवाद हुँदै आएको छ । 

सुस्ताबासीले लामो समयदेखि सीमा स्तम्भ राख्न माग गरेपनि नेपाल र भारतबीचको सीमा विवादका कारण स्तम्भ राखिएको छैन ।


प्रतिक्रिया