दश बुँदे प्रतिबद्धता पत्र जारी गर्दै 'नेपाल बर्ड फेयर' सम्पन्न

माघ २९, २०८० | नवलपुर

नेपाल चरा उत्सवको दोस्रो संस्करण दश बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । 

पोखरा पन्क्षी समाजको आयोजना र जटायु रेष्टुरेन्ट नवलपुर, बर्ड एजुकेसन सोसाइटी चितवन सहआयोजनामा पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबारबाट सुरु भएको उत्सवले चराको संरक्षण र सम्वद्र्धन गर्ने प्रतिवद्धता जनाएको छ । 

उत्सवले जलवायु परिवर्तन, बढ्दो विषादीको प्रयोगले पशुपन्क्षीमा नकरात्मक असर पारेको निष्कर्ष निकालेको छ । 

प्राकृतिक सम्पदा, सिमसार क्षेत्रमा काम गर्दा अनिवार्य रुपमा विज्ञको सुझाव लिनुपर्ने, संरक्षणको कार्ययोजना बनाउँदा स्थानीय समुदायको ज्ञान, सीप र प्रविधिलाई आवश्यक्ता अनुसार प्रयोग गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

चराका उप–प्रजातिको संरक्षणको लागि विशेष कार्यविधि बनाएर अनुसन्धानमा जोड दिनुपर्ने, विद्यमान चरा संरक्षणको कार्ययोजना पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने तथा कृषिजन्य भूमिमा आश्रित चरा प्रजाति र संख्या द्रुत गतिमा घट्दै गएकोले संरक्षणका लागि विशेष पहलकदमी लिनुपर्ने लगायत दश बुँदे प्रतिबद्धता जारी गरिएको चरा विद् एवंम जटायु रेष्टुरेण्टका संयोजक डीबी चौधरीले बताउनुभयो ।

उत्सवमा पन्छी तथा जैविक विविधता क्षेत्रमा आवद्ध ३९ संस्थाका प्रतिनिधि, भारत, भुटान लगायत देशका प्रतिनिधिहरुको सहभागिता थियो ।

चरा उत्सवको समापनमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले चरा संरक्षणको लागि दिगो कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उत्सवमा देशभरका संरक्षणकर्मी, पन्क्षीविद् र वाईल्ड लाईफ फोटोग्राफर र सरोकारवालाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया