पश्चिम नवलपरासीमा असिनाले गहुँ र तरकारीमा ठूलो क्षति

चैत्र १३, २०८० | पश्चिम नवलपरासी

सोमबार राति परेको असिना पानीले पश्चिम नवलपरासीमा किसानले लगाएको गहुँ बाली र तरकारीमा ठूलो क्षति पुर्‍याएको छ । 

जिल्लाको सुनवल, रामग्राम, पाल्हिनन्दन, प्रतापपुर क्षेत्रमा असिनाले तरकारी र गहुँ बालीमा ठूलो क्षति पुगेको किसानहरुले बताएका छन् । 

असिनाले सबैभन्दा बढी गहुँ बालीमा क्षति पुर्‍याएको छ । काट्ने समय हुन लागेको गहुँमा असिना पर्दा काम नलाग्ने अवस्था पुगेको किसानहरुले बताए । रामग्राम नगरपालिकाको वडा नम्बर १०, ११, १२, १३ मा धेरै क्षति पुर्‍याएको नगर प्रमुख धनपत यादवले बताउनुभयो । 

वडा नम्बर–१७ को तरकारी पकेट क्षेत्रमा लगाएको लौका, गोडभेंडा, काँक्रा, काउली र लहरे तरकारी पनि असिनाले नष्ट गरेको नगर प्रमुख यादवले बताउनुभयो । 

असिनाले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न वडा कार्यालयलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण आएपछि पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ । 

असिना पानीले सयौं बिघा क्षेत्रफलमा लगाइएको गहुँ र तरकारी बाली नष्ट भएपनि आधिकारिक तथ्याङ्क भने सम्बन्धित पालिका र कृषि ज्ञान केन्द्रसँग छैन । 

कृषि ज्ञान केन्द्र परासीका प्रमुख रविन्द्रनाथ चौवेका अनुसार सम्बन्धित पालिकामा क्षतिको विवरण संकलन गर्ने काम भईरहेको बताउनुभयो ।


प्रतिक्रिया