पछिल्लो एक सातामा आगलागी तथा डढेलोमा परि ७ जनाको मृत्यु

वैशाख ६, २०८१ | काठमाडौं

देशका विभिन्न स्थानमा भएका आगलागी तथा डढेलोका कारण पछिल्लो एक सातामा ७ जनाको मृत्यु भएको छ ।

आगलागीमा परि ८ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

एक साताको अवधिमा भएका ९३ वटा आगलागी तथा १९ वटा डढेलोका घटनाबाट सो क्षति भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, ८४ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्राधिकरणको तथ्याङ्क छ ।

२५ वटा पशुचौपायाको मृत्यु भएको छ भने १९ वटा भौतिक पूर्वाधार समेत नष्ट भएका छन् । नवलपरासीको रामग्राम नगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, मोरङको सुन्दर हरैंचा नगरपालिकाका विभिन्न स्थानमा आगलागी भएको थियो ।

त्यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका लगायत क्षेत्रमा डढेलो लागेको थियो । बढ्दो सुख्यायाम र पानी नपरेका कारण आगलागी तथा डढेलोको घटना बढेको प्राधिकरणले जनाएको छ । 


प्रतिक्रिया