काठमाडौं महानगरद्वारा ३३ जना बिरामीको निःशुल्क उपचार

वैशाख ७, २०८१ | काठमाडौं

काठमाडौँ महानगरपालिकाले २ जना बेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीले निःशुल्क उपचार पाएको जनाएको छ । उनीहरुले महानगर क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा पाएका हुन् ।

बिरामीहरुमध्ये १५ जनाको मिर्गौला डाइलासिस भइरहेको छ । उपचार सेवा लिँदालिँदै २ जना बिरामीको मृत्यु भएको छ भने १२ जना डिस्चार्ज गरिएको छ । १ जनालाई अर्को अस्पतालमा रिफर गरिएको छ । ३ जना अहिले पनि उपचाररत रहेको महानगरले जनाएको छ ।

उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च सबैभन्दा कम आँखाको उपचारका लागि २ हजार ५ सय रुपैयाँ भएको देखिन्छ । धेरै खर्च लागेको उपचार २ लाख ७४ हजार रुपैयाँ बराबरको छ । सो खर्च अस्पतालहरुले व्यहारेको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । त्यसकै आधारमा तयार पारिएको अनलाइन प्रणाली अहिले कार्यान्वयनमा रहेको महानगरले जनाएको छ ।

प्रणालीबाट उपचार दिने र पाउने तथा कुन ठाउँमा कसको कसरी उपचार भएको छ, कुन अस्पतालमा कति शय्या छ, हेर्न सकिन्छ । यसलाई महानगरको स्वास्थ्य विभागले सहजीकरण गरिरहेको छ ।  


प्रतिक्रिया