बुटवलको मोटरपार्टस् गोदाममा आगलागी, करीब २ करोडको क्षति

वैशाख २५, २०८१ | तिलोत्तमा

रुपन्देहीको बुटवलस्थित मोटरपार्टस्को गोदाम आगलागी हुँदा करीब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

बुटवल उपमहानगरपालिका–११, नारायणपथस्थित ओम प्राप्ति एण्ड प्रिजा सप्लायर्सको गोदाममा आगलागीबाट १ करोड ९६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । 

आगलागीबाट गोदामभित्र रहेको मोबिल, टायर, ब्याट्री, ब्रेक सु फाइबर लगायत सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । 

मंगलबार बिहान साढे ४ बजेतिर छिमेकीले फोन गरेर आगो लागेको जानकारी दिएपछि आफू गोदाममा पुगेको व्यवसायी प्रिजम श्रेष्ठले बताउनुभयो । 

आगलागीबाट १ करोड ९६ लाख बढीको नोक्सानी भएको उहाँको भनाई छ । यद्यपि, यकीन तथ्यांक भने आउन बाँकी छ । 

जिल्ला प्रहरी कार्यालय प्रवक्ता मनोहर प्रसाद भट्टका अनुसार ४ वटा दमकलको सहयोगमा बिहान सवा ६ बजेतिर आगो निभाइएको थियो ।


प्रतिक्रिया