दुर्घटनामा १३ जनाको मृत्यु 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

मुलुकका विभिन्न स्थानमा आज भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको बल्छेटारबाट ना ७ ख ४३८७ नम्बरको बस त्रिशूली नदीमा खस्दा ४ जनाको घटनास्थलमै, २ जनाको उपचारको क्रममा गजुरी अस्पतालमा र २ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

मृत्यु भएकामा ईलामका विशाल गिरी, काठमाडौंका राज कुमार सुवेदी, काठमाडौंकै सिता थपलिया, ठेगाना नखुलेका प्रकाश श्रेष्ठ, शेखर मगर, धादिङका राजन आचार्य र नाम, थर वतन नखुलेका २ जना रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मध्ये १७ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अन्य घाइतेको धादिङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यात्रुबस आज बिहान पौने ७ बजे, सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

यस्तै, बैतडीको दशरथ चन्द नगरपालिका ११ नानीगाडमा आज जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । ३ जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा दशरथ चन्द नगरपालिका १० बाराकोटका ४० बर्षिय हिरा बल्लभ भट्ट, ६० बर्षिया नरुली भट्ट र ६५ बर्षिय लालमणी भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । ग १ ज ४९२१ नम्बरको जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै, उदयपुरको कटारी नगरपालिका—१४ घुर्मी रानीडाँडामा बिहान टिप्पर दुर्घटना हुदा सहचालक सहित दुइ जनाको मृत्यु भएको छ । ना ७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित भई खस्दा सहचालक सिन्धुलीको दुधौली नगरपालिका ११ का २० वर्षिय लिला बहादुर सार्की र टिप्परमा सबार कटारी नगरपालिका ५ भोर्लेका ३० वर्षिय डिकबहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया