निजगढ विमानस्थल बनाएरै छाड्ने मन्त्री भट्टराईको प्रतिबद्धता

रेडियो कान्तिपुर संवाददाता

श्रावण २८, २०७६ | काठमाडौं

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल जसरी पनि बनाएरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी खोजिने र नआए सरकारकै लगानीमा विमानस्थल बनाउने योजना उहाँले सुनाउनुभयो ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले लगानी बोर्डबाट अन्तर्राष्ट्रिय लगानी नजुटे पनि सरकार आफैंले विमानस्थल बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै रकम एकैपटक निकाल्नु पर्ने हैन । वर्षको २५–३० अर्ब खर्च गरे विमानस्थल बन्छ । यति रकम जोहो गर्न सरकारलाई अप्ठेरो पर्दैन ।’

बैठकमा मन्त्री भट्टराईले आगामी मंसिरमा विमानस्थलको शिलान्यास गरेरै छाड्ने बताउनुभयो । जवाफमा कांग्रेस सांसद सुरेन्द्र पाण्डेले विमानस्थल निर्माण गर्ने प्रतिवद्धता यसअघि पनि थुप्रै पटक आएको भन्दै त्यसलाई पूरा गर्नेतर्फ लाग्न सुझाव दिनुभयो ।

शिलान्यास गर्नु मात्रै कुनै उपलब्धी नहुने भन्दै उहाँले विमानस्थल उद्घाटन गर्ने मन्त्री बनेर देखाउन नेता पाण्डेले आग्रह गर्नुभयो । समितिले आजै लगानी बोर्डका पदाधिकारीसँग पनि विमानस्थल निर्माण र वैदेशिक लगानीका बारेमा छलफल गर्दैछ । 


प्रतिक्रिया