आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

चैत्र २२, २०८० | काठमाडौं

लुटन टाउनलाई पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा आर्सनलले पाहुना टोली लुटनलाई २–० गोलले पराजित गर्दै तालिकामा एक अंकको अग्रता लिएको हो ।

शीर्ष स्थानको आर्सनलको ३० खेलबाट ६८ अंक भएको छ भने दोस्रो स्थानको लिभरपुलको २९ खेलबाट ६७ अंक छ । समान ६७ अंक भएपनि गोल अन्तरका आधारमा म्यानचेस्टर सिटी तालिकाको तेस्रो स्थानमा रहेको छ ।

खेलको २४ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको गोलबाट आर्सनलले अग्रता लिएको थियो । ४४ औं मिनेटमा जापानी डिफेन्डर डाइकी हासियोकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

यस्तै, प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई हराएको छ । इतिहाद स्टेडियममा भएको खेलमा सिटीले एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा फिल फोडेनले शानदार ह्याट्रिक गरे । 

रोड्रीको नाममा एक गोल रह्यो । एस्टन भिल्लाका लागि जोन डुरानले एक गोल फर्काए । अर्को खेलमा ब्रेन्टफोर्ड र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।


प्रतिक्रिया