पाँच खेलको टि–ट्वान्टी सिरिज एक खेल अगावै वेस्ट इन्डिजलाई

वैशाख २०, २०८१ | काठमाडौं

चौथो म्याचमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ ले काठमाडौंमा आयोजित टि–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ ।

लगातार तीन म्याच जित्दै पाहुना टोलीले एक खेल अगावै सिरिज ३–१ को अग्रतासहित जितेको हो । चौथो म्याचमा वेस्ट इन्डिजले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रनमा अलआउट भयो । कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

रोहित बाहेक अन्य ब्याटर चल्न नसक्दा नेपालले पराजय व्यहोरेको हो । सन्दीप जोरा, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९ रन बनाएका थिए । त्यसबाहेक सोमपाल कामीले १० रन जोडे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रनको योगफल बनाएको हो । उसका लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित ८४ रन बनाएका थिए । ओपनर जोनसन चाल्र्सले ५८ रन जोडे ।

दोस्रो ओभरमा पहिलो विकेट लिएको नेपालका बलरले त्यसपछि १८ ओभरभित्र दुई विकेट मात्र लिएका थिए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिएका थिए ।

नेपालले पहिलो म्याच जितेपनि त्यसपछिका तीन वटा म्याच जित्दै वेस्ट इन्डिजले सिरिज जितेको हो । सिरिजको पाँचौ तथा अन्तिम म्याच पर्सी शनिवार हुनेछ । 


प्रतिक्रिया