एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग खेल्दै

वैशाख ८, २०८१ | काठमाडौं

नेपालले एसीसी ट्वान्टी-२० प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको मस्कटस्थित अल अमेराट मैदानमा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । 

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स यूएईसँग पराजित भएको नेपालले तेस्रो स्थानका लागि हङकङसँग खेल्न लागेको हो । सेमिफाइनलमा निकै खराब ब्याटिङ गरेको नेपाललाई यूएईले ६ विकेटले हराएको थियो । 

सेमिफाइनलमा पराजित भएसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको छ । आज हुने खेलको विजेता टिमले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउने छ । समूह चरणमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो ।

यूएईले भोलि हुने फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ । ओमानले दोस्रो सेमिफाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । फाइनल पुगिसेका दुवै टोली इमर्जिङ टिम्स एसिया कपका लागि समेत छनोट भइसकेका छन् । 

गत वर्ष नेपालले काठमाडौंमा यूएईलाई फाइनलमा हराएर एकदिवसीय संरचनाको एसिया कप खेलेको थियो । नेपालले समूह चरणमा मलेसिया, कतार, हङकङ र साउदी अरेबियामाथि जित हासिल गरेको थियो । 


प्रतिक्रिया