एन्फा आफैंमा रुमल्लिरहँदा नेपाली फुटबलको अधोगति अवसम्भावी

चैत्र १, २०८० | काठमाडौं

चेन्ज एन्फाको नारा लिएर पंकविक्रम नेम्वाङ्ग नेतृत्वमा अखिल नेपाल फुटबल संघको नयाँ समिति चुनिएको डेढ वर्ष नाघिसक्यो । यो २० महिनामा साधारण सभा गर्नबाहेक अधिकांश मामिलामा एन्फा असफल रहँदै आएको छ । एन्फा आफैंमा रुमल्लिरहँदा नेपाली फुटबलको अधोगति अवसम्भावी छ ।

नेम्वाङ नेतृत्वको कार्यसमिती यसकारण पनि चर्चामा छ कि यसले फुटबलबाहेकका सबै काम गर्छ । कतिसम्म भने एन्फाको इतिहासमा अविश्वास प्रस्ताव सामना गर्ने उनी पहिलो अध्यक्ष बने । फुटबलको मेरुदण्डको रूपमा रहेको घरेलु लिग अझै निश्चित छैन । गत वर्षको लिग जेठमा सकिएपछि यो वर्षको लिग नै भएको छैन । एन्फाको यो कदमले फुटबल खेलाडी पलायनलाई थप बल पु¥याउने देखिन्छ । घरेलु प्रतियोगितालाई प्राथमिकतामा साथ अघि बढाउनुका साथै समयमै लिग संचालन गर्ने हो भने खेलाडी पलायनको बाटो बन्द हुने राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का बताउँछन् ।

आफैँले घोषणा गरेका प्रतियोगितासमेत सञ्चालन गर्न नसकेपछि एन्फाले क्लबहरूको साथ पनि जुटाउन सकेको छैन । लामो समय लिग नहुँदा र जीवन निर्वाहमै समस्या भएपछि राष्ट्रिय टिमका समेत गरि ४० भन्दा धेरै खेलाडी विदेश पलायन भएका छन् । तर २० महिनामा ४ साधारण सभा गर्ने एन्फाले यस विषयमा न छलफल गर्यो, न त कुनै पदाधिकारीले चासो नै दिए । फुटबल प्रतियोगिता आयोजना, खेलाडीको वृत्ति विकास, व्यावसायिक लिग सञ्चालन र नियमनको अभिभावक संस्था एन्फा अहिले आपसी राजनीति, भ्रष्टाचार र अपारदर्शितामा डुबेको एन्फाकै पदाधिकारी बताउँछन् ।

पटक पटक मिति तोक्दा पनि हुन नसकेका बी र सी डिभिजन तथा महिला लिग यस वर्ष हुनेमा शंका नैछ । फुटबल गतिविधि नै सञ्चालन नगरी फिफा र एएफसीबाट आएको पैसाको हिसाब कागजमा मिलाउन पदाधिकारीहरू व्यस्त रहेको एन्फाकै सदस्यहरूको आरोप छ ।

एन्फाका पदाधिकारीको आर्थिक मोह र भद्रगोल अवस्थाले राष्ट्रिय टिम त कमजोर बनिरहेको छ नै, यसले खेलाडी उत्पादनमा समेत असर परिरहेको छ । तर, एन्फा नेतृत्व आफूहरु काम गरिरहेको दाबी गर्छ ।

आन्तरिक विवादको निरुपण नहुँदै एन्फा फेरी अर्को विवादमा मुछिएको छ । विश्वकप छनोटको खेलका लागि मैदान राम्रो नहुँदा बहराइनमै नेपालले २ खेल खेल्न लागेको छ । त्यसका लागि अनावश्यक रुपमा आफ्ना पदाधिकारीलाई विदेश भ्रमणमा पठाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले विदेश भ्रमणमा गएकालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ । अचम्मलाग्दो कुरा त के भने दशरथ रंगशालाको मैदान अरुलाई उपलब्ध गराउन एन्फाले नै राखेपलाई पत्राचार गरेको प्रमाणहरु सार्वजनिक भैरहेका छन् । त्यसैले एन्फा र विवाद अहिले पर्यायवाची जस्ता छन् ।

संस्था चलाउन एएफसी र फिफाको मुख ताक्ने गरेको एन्फाले विभिन्न क्लबहरुलाई लिग तयारीका लागि समयमा खर्च दिन नसक्ने स्थिती छ । फुटबलबाट जीवन निर्वाह गर्न नसकिने भन्दै खेलाडी विदेशिएका छन् । कर्मचारीले समयमै तलब पाएका छैनन् । तर, एन्फा क्लब र जिल्लाका पदाधिकारीहरुलाई विदेशमा घुमाउन उद्दत छ । यसको जवाफ एन्फा नेतृत्वले दिनैपर्छ । किनभने फुटबलका कारण एन्फाको अस्तित्व छ, फुटबल नै नरहे राजनीति गर्नका लागि मात्रै एन्फाको अस्तित्व जोगाइराख्नुको कुनै दरकार छैन ।


प्रतिक्रिया