विश्वकप छनोटका खेल घरेलु मैदानमा नै 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ४, २०७६ | काठमाडौं

कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल अन्तगर्त एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेल घरेलु मैदानमा आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले तयारी गरेको छ । साउन १ गते भएको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा कुवेत, अस्ट्रेलिया, चाइनिज ताइपे र जोर्डनसँग परेको थियो ।

समूह रहेका टोलीले होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछ । त्यसैले नेपालले ४ वटा होम र ४ वटा अवे खेल खेल्नुपर्नेछ । 

त्यसमध्येको पहिलो खेल कुवेत विरुद्ध भदौ १९ गतेका लागि तय भएको छ । अर्को महिना नै होम म्याचका लागि दशरथ रंगशालाको मैदान तयार भइ नसक्ने हुनाले पहिला अवे म्याच खेलाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत प्रयास भइरहेको राखेप सदस्य सचिव रमेश सिलावलले बताएका छन् ।

अवे सबै खेलपछि होमका लागि भने मैदान तयार भइसक्ने सिलवालको दाबी छ । ‘रगंशालामा दुबो लगाउने काम मात्र बाँकी छ,’ सदस्य सचिव सिलवालले भने, ‘पहिले अवे खेल खेलाएर होम म्याच पछि गराउने गरि हामीले एन्फालाई भनिसकेका छौं ।’ 

दशरथ रंगशाला समयमा तयार हुन नसक्दाको अवस्थामा वैकल्पिक मैदानका रुपमा हल्चोकस्थित एपीएफ मैदान र सातदोबाटोस्थित एन्फा मैदानलाई लिन सकिने सिलवालको भनाई छ । 

तर, सिलवालको त्यो भनाईलाई एन्फा महासचिव इन्द्रमान तुलाधरले भने अस्वीकार गरेका छन् ।

उनका अनुसार दशरथ रंगशालाबाहेक विश्व कप छनोटका खेल नेपालका अन्य मैदानमा सम्भव छैन । हलचोकस्थित मैदान रहेको परिसरमा शसस्त्र प्रहरी बलको हेडक्वार्टर रहेकाले सम्भव नहुने उल्लेख गर्दै महासचिव तुलाधरले भने,‘ एन्फाको एस्ट्रो टर्फ (कृतिम मैदान) मा छनोट खेल हुँदैन ।’

दशरथ रंगशालामा नै अवे खेल सकेपछि गराउने विषयमा भने पहल थालिसकिएको तुलाधरले बताए । ‘हामीले सम्बन्धित सबै देशलाई पत्राचार गरेका छौं, उनले भने,‘ त्यसमा उहाँहरु सकारात्मक पाएका छौं ।’ 


प्रतिक्रिया