पहिरोमा परी गुल्मीमा ८ को मृत्यु, चार बेपत्ता (अपडेट)

श्रावण ७, २०७६ | पाल्पा 

अविरल वर्षा पछि आएको पहिरोमा परेर गुल्मीको सत्यवती गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । चार बेपत्ता छन् । सत्यवती गाउँपालिका–४, लिम्घा भीरकुनामा पहिरोले पुरिएर बेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको छ । भीरकुनाको पहिरोमा परेर दुई बालक बेपत्ता छन् । ४ नम्बर वडाको डाङसिंगाको कसिङथलामा दुई जनाको मृत्यु भएको छ ।

यस्तै, सिङदी गाउँको पहिरोमा परेर दुई जना बेपत्ता छन् । पहिरोका कारण ७५ परिवार विस्थापित भएका छन् । भीरकुनाकी ६५ वर्षीय छली विक र उनका पनातिनी ९ वर्षीय शिवानी, २९ वर्षीय पम्पा विक र उनकी १२ वर्षीया छोरी अञ्जली विक, पम्फाकी दिदीकी छोरी ५ वर्षीया हिमांसु विकको मृत्यु भएको प्रहरलिे जनाएको छ । 

यस्तै सोही गाउँपालिकाकै ठूलो लुम्पेक कसिङथलामा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी र ९ वर्षीय दर्शन तरामुको मृत्यु भएको छ । भीरकुनाकी ३५ वर्षीया निर्मला विककी ९ वर्षीया छोरी तारा र डेड वर्षीय छोरो सुमन बेपत्ता छन् ।

ठूलो लुम्पेकका ४० वर्षीया माया र १६ वर्षीया बवि विकको अवस्था पनि अज्ञात छ । पहिरोमा परी घाइते भएका सत्यवती–४ का १० वर्षीय करिष्मा तरामु र १३ वर्षीय धनी तरामुको ठूलो लुम्पेकस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरलिे बताएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पहिरो पीडितका लागि थप राहत र उद्दारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको बताउनुभयो ।  

पहिरो पीडित परिवारलाई प्रदेश ५ सरकारले आजै राहत वितरण गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले समेत पहिरोले क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको छ । यस्तै, पहिरोले पुरिएर बागलुङको गलकोटमा १७ वर्षीया सीता गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान गोठमा गएको बेला घरमाथिबाट खसेको पहिरोले पुरिए उनको मृत्यु भएको हो । 


प्रतिक्रिया