इटहरी गोल्डकपको सेमिफाइनलमा आयोजक र चर्च ब्वाइज भिड्दै

चैत्र १५, २०८० | सुनसरी

इटहरी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज चर्च ब्वाईज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

सुनसरीको इटहरी रंगशालामा हुने सेमिफाइनल खेल साँझ पौने ७ बजे सुरु हुनेछ । आयोजक राष्ट्रिय जागृति क्लबले पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । 

चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गर्दै आयोजकसँगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो ।

यसअघि हिजो साँझ भएको पहिलो सेमिफाइनलमा साविक विजेता सगरमाथा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले उपाधि यात्रा तय गरेको छ । 

आर्मीले सगरमाथा क्लबलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराएको हो । फाइनल खेल पर्सि शनिबार हुनेछ । विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया