विष्फोटपछि लेबननमा राजनीतिक संकट, तीन मन्त्रीद्वारा राजीनामा

श्रावण २६, २०७७

– सरकार विरोधी प्रदर्शन चर्किन थालेपछि लेबननका तीनजना मन्त्री र ९ जना सांसदले राजीनामा दिएका छन् । न्याय मन्त्री मरी क्लड नाज्म्, सूचना मन्त्री मनल अब्देल समाद र पर्यावरणमन्त्री डेमिनोस् कट्टारले राजीनामा दिनुभएको अलजजीराले उल्लेख गरेको छ । गतसाता भएको घटनालाई लिएर सरकार विरोधी प्रदर्शनमा उत्रिएका हजारौं प्रदर्शनकारीमाथि प्रहरीले आज पनि अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले हिजोदेखि बेरुतस्थित संसद भवन अगाडि प्रदर्शन जारी राखेका छन् ।

यसैबीच बेरुत विष्फोटका कारण आर्थिक संकटमा परेको लेबननलाई ३० करोड युरो सहयोग गर्ने विश्व समुदायले प्रतिबद्धता जनाएका छन् । फ्रान्सको अगुवाइमा भएको भर्चुअल सम्मेलनमा तत्काल मानविय सहायतामा सो रकम खर्च गर्ने सहमती भएको हो । अन्तर्राष्ट्रिय सहयोगका लागी संयुक्त राष्ट्रसंघले समन्वय गर्नेछ । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लेबननलाई पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यद्यपि सहयोग रकम भने खुलेको छैन । गत मंगलबार भएको विष्फोटमा परि लेबननमा २ सय बढी मानिसले ज्यान गुमाएका छन् । बिष्फोटमा परी २ लाख ५० हजार मानिस घरबार विहिन भएका छन् भने ब्यापार ब्यवसाय ध्वस्त भएको छ । खाद्यान्नको आपूर्ति प्रणाली अवरुद्ध बनेको छ ।


प्रतिक्रिया