करदाता प्रोत्साहन उपहार कार्यक्रम के हो ? ५ प्रश्नमा बुझौं

रेडियो कान्तिपुर संवाददाता

श्रावण २२, २०८३ | काठमाडौं

नवीन कोइराला


करदाता प्रोत्साहन उपहार कार्यक्रम के हो ? 

सामान किनेपछि अनिवार्य रूपमा उपभोक्ताले बिल माग्ने र व्यवसायीमा पनि अनिवार्य रूपमा बिल जारी गर्ने संस्कारको विकास गर्न सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा यो कार्यक्रम घोषणा गरेको थियो । भ्याट तथा अन्य कर चुहावट नियन्त्रण गर्न र सुरक्षित विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को अभ्यासलाई विस्तार गर्न कार्यक्रम ल्याइएको सरकारको भनाइ छ । कार्यक्रमका लागि सरकारले कार्यविधि समेत बनाएको छ ।

कार्यक्रममा कसरी सहभागी हुने ?

कार्यक्रमका लागि नेपालभर आफ्नो व्यक्तिगत प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन पाउने छन् । व्यवसायिक प्रयोजनका लागि भएका खरिद, सरकारी वा सार्वजनिक संस्थानको नाममा जारी भएका बीजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी साधन, ढुवानीका साधन र हवाइ टिकट खरिदका बीजक भने सहभागी हुन पाउँदैनन् । स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरिएका बीजक पनि समावेश गरिने छैन । विद्युतीय भुक्तानी (क्युआर कोड वा अनलाइन) मार्फत गरिएको खरिद उपहार कार्यक्रममा स्वतः समावेश हुनेछ । यस्तो भुक्तानी गरेपछि प्राप्त हुने ट्रान्जेक्सन नम्वर नै उपहारको कूपन नम्वर हो भने अन्य बीजकको हकमा उपभोक्ताले विभागको एप वा वेबसाइट https://prize.ird.gov.np/  मा बीजक नम्बर, विक्रेताको प्यान, मिति, रकम र आफ्नो विवरण भर्नुपर्नेछ, त्यहीबाट कुपन नम्वर प्राप्त हुन्छ ।

विजेताको छनोट कसरी ?

कार्यक्रमको पहिलो ड्र शुक्रवार गरियो । यही साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता तथा नगदमा वस्तु तथा सेवाको कारोबार गरी विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिएको हो । जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरी एक–एक लाख रुपैयाँ नगद उपहार पाएका छन् । एक जनाका लागि भने पाक्षिक रुपमा १० लाख रुपैयाँको बम्पर उपहारको व्यवस्था गरिएको छ । विभागका अनुसार, अनलाइनमार्फत् शिव कृष्ण जनरल स्टोरमा २५० रुपैयाँको सामान किनेका एक उपभोक्ताले यसपटकको १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् । उनले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजश्व विभागले जनाएको छ ।

कार्यक्रमको पहिलो लक्की ड्र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थिति आयोजित कार्यक्रममार्फत विजेताको घोषणा गरिएको हो । यसपटक दुई करोड ५६ लाख ८ हजार ९४ वटा विद्युतीय र सात हजार ७७ वटा नगद कारोबारमध्येबाट विजेता छनोट भएका हुन् ।

विजेता छनोटका लागि “क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म ¥यान्डम स्याम्पलिङ विदआउट रिप्लेसमेन्ट” विधि प्रयोग गरिएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले प्रेषित गरेको विवरणमा उल्लेख छ । उक्त विधि अनुसार सबै कुपनले समान अवसर पाउने, एउटै कुपन एउटै छनोटमा दोहोरिन नसक्ने तथा छनोट प्रक्रिया पूर्ण रुपमा निष्पक्ष र सुरक्षित रहने दावी गरिएको छ ।

कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।

विजेताले कसरी रकम पाउँछन् ?

विभागले विजेताको जानकारी सम्वन्धित व्यक्तिलाई मोबाइल र इमेलमार्फत दिइनेछ र नाम विभागको वेबसाइट तथा सामाजिक सञ्जालमा सार्वजनिक गरिनेछ । विजेता उपभोक्ताले उपहार घोषणा भएको १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा आफ्नो बैंक खाता र कारोवारसम्बन्धी सम्पूर्ण जानकारी दिनुपर्नेछ । त्यसबारे अध्ययन गरी विभागले उपभोक्ताले उपलब्ध गराएको बैंक खातामा उपहार रकम जम्मा गरिदिनुपर्नेछ । कार्यविधिमा भनिएको छ, ‘उपभोक्ताले पेश गरेका सक्कल बीजक, आधिकारिक परिचयपत्रको प्रतिलिपि, बैंक खाताको विवरण र स्थायी लेखा नम्बर बारे १० दिन भित्र आवश्यक जाँचबुझ गरि उपहार वितरण गर्नु पर्नेछ ।’ उपहारका लागि पेश गरिएका कागजात जाँचबुझ गर्दा झुट्टा, नक्कली वा किर्ते प्रमाणित भएमा त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाहीको लागि विभागले सम्वन्धित निकायमा लेखी पठाउने व्यवस्था समेत कार्यविधिमा उल्लेख छ ।

विजेता रकम लिन नआए के हुन्छ ?

तोकिएको अवधिभित्र आवश्यक कागजात सहित उपहार दाबी गर्न नपुगेका विजेताको उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।      


प्रतिक्रिया