दाङ डायरी

रेडियो कान्तिपुर संवाददाता

पुस २६, २०७१

दुर्गालाल केसी 

पौष २६, दाङ 

  • बिद्यालयमा मुक्त कमलरीको संख्या बढाउन दाङका गढवा, गंगापरस्पुर र गोबरडिहा गाविसमा साइकल अभियान थालिएको छ । आर्थिक अभावमा बिद्यालय जान नसक्ने बालिकालाई मध्यनजर गरी हरेक बर्ष क्रियटिङ पोसिबिलिटिज नेपालको सहयोगमा साइकल बितरण गर्ने गरिएको छ । माघी पर्वको अवसर पारी आज ५४ बालिकालाई साइकल प्रदान गरिएको छ । १२ बर्ष पुगेका बालिकालाई बिद्यालयसम्म पुग्न सजिलो होस् भनेर साइकल दिने गरेको क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेश सापकोटाले बताउनुभयो । साइकल पाउने भएपछि छोरीलाई बिद्यालय पठाउने क्रम बढेको मुक्त कमलरी विकास मञ्चकी जिल्ला अध्यक्ष उर्मिला चौधरीले बताउनुभयो ।

 

  • दाङमा थपिएका दुई नयाँ नगरपालिकालाई भौतिक संरचनाको अभावमा काम गर्न समस्या भएको छ । पछिल्लोपटक चैलाही र सोनपुर गाविस जोडेर लमही तथा हापुर, नारायणपुर र ढिकपुर गाविस जोडेर त्रिपुर नगरपालिका घोषणा भएका छन् । नगरपालिकामा कोठा अभावमा चौरमा काम भइरहेको छ । सेवाग्राहीले चौरमै उभिएर सेवा लिइरहेका छन् । गाविसलाई समेत पर्याप्त कोठा नभएको बेला नगरपालिका घोषणा भएपछि समस्या भएको त्रिपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत निमबहादुर वलीले बताउनुभयो । नगरपालिका अनुसारका संरचना बनाउन र कर्मचारीलाई तलव खुवाउन कठिन भैरहेको लमही नगरपालीकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले बताउनुभयो ।

 

  • पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा लामो दूरीका गाडी चालकलाई प्रशिक्षण दिन रिफ्रेस सेन्टर स्थापना गरिएको छ । सेन्टरमा ट्राफिक प्रहरीले चालकलाई राम्ररी गाडी चलाउन, मादक पदार्थ सेवन नगर्न, मोवाइल प्रयोग नगर्न, तिव्र गतिमा नचलाउन र सुरक्षित हुन सुझाव दिने गरेको छ । चालक मात्रै होइन यात्रुलाई समेत फ्रेस होस् भनेर सेन्टरमा प्रतिक्षालय, स्वच्छ खानेपानी र बस्ने व्यवस्था गरिएको छ । प्रशिक्षण दिन थालेपछि दुर्घटना न्यूनिकरणमा मद्धत मिलेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बिरबहादुर थापाले बताउनुभयो । 

 

  • शिक्षा विभागले तयार पारेको एकीकृत छात्रबृत्ती व्यवस्थापन निर्देशिकाले कमलरीलाई अध्ययनमा समस्या पर्ने भन्दै मुक्त कमलरीले त्यसको बिरोध गरेका छन् । शिक्षा बिभागले पुस ११ गते निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको थियो । निर्देशिकामा मुक्त कमलरीले पाउने छात्रबृत्ती रकम निकै कम व्यवस्था गरिएको मुक्त कमलरी विकास मञ्चले जनाएको छ । यसले घरमै बसेर पढ्ने र छात्रावासमा बस्ने मुक्त कमलरीलाई अध्ययन गर्न नपुग्ने मञ्चकी केन्द्रीय अध्यक्ष बिमला चौधरीले बताउनुभएको छ । निर्देशिका अनुसार १ देखि ८ कक्षासम्मका कम्लरीलाई मासिक १ सय ५०, ९ र १० कक्षालाई मासिक १ सय ८०, ११ र  १२ कक्षालाई मासिक ५ सय तथा स्नातकका लागि मासिक १ हजार रुपयाँ प्रदान गर्ने व्यवस्था छ । यसैगरी छात्रावासमा बस्ने अभिभावकविहिन कम्लरीका लागि प्रतिव्यक्ती मासिक ३ हजार रुपयाँ दिने व्यवस्था छ । सम्पूर्ण छात्रबृत्ती रकम १० महिनाका लागि मात्र दिने गरिएको छ ।


प्रतिक्रिया