तेस्रो लहर-डेल्टा भाइरस वा ब्रेक थ्रो संक्रमण ?
कार्तिक १५, २०७८ | काठमाडौं
पश्चिमा देशहरुमा चौंथो लहरको आकलन हुँदा नेपालमा दोस्रो लहर सकियो कि सकिएन भन्न अप्ठेरो भईराखेको अवस्था छ । अहिलेको स्थितिलाई विश्लेषण गर्दा कोरोनाको तेस्रो लहर नआउला भन्न सकिन्न । तेस्रो लहर आउने वातावरण बन्नको लागि सामाजिक दूरीको पालना नहनु, भाइरसको परिवर्तित स्वरुप र खोप सम्बन्धित कुराहरुको भूमिका देखिन्छ ।
खोप र भाइरस सम्बन्धित कुराहरुको असरले तेस्रो लहर आउनमा कसरी ठूलो भूमिका खेल्छ, विश्लेषण हुन जरुरी छ । सामाजिक दूरीको पालना नहुनुले अझ विकराल स्थिति पैदा हुने देखिन्छ । पछिल्ला केही साताहरुको आँकडा केलाउँदा नेपालमा कोरोना भाइरस संक्रमण घट्दै गएको छ भन्ने भान हुन्छ । यद्यपि, कोरोनाबाट मृत्यु हुनेहरुको संख्या पछिल्ला साताहरुमा उल्लेख्यनीय रुपमा घटिसकेको चाहिँ छैन ।
कुल जनसंख्याको १५ दशमलव २ प्रतिशतलाई खोप लगाई सकिएको भएपनि नयाँ केसहरु कम हुँदै जानुपर्नेमा झन थपिंदै गएका छन् । इजरेल संसारका थोरै देशहरुमध्ये एउटा देश हो जसले आफ्ना अधिकांश नागरिकलाई खोप लगाइसकेको भएपनि दैनिक संक्रमित हुने दर संसारमै उच्च छ । सरदरमा प्रतिदिन ७ हजार ५ सय जना । गत वर्ष सामाजिक दूरी र लकडाउन संक्रमितको चेन घटाउने मुख्य कडी थिए भने अहिले खोप पनि थपिएको छ । परिवर्तित भाइरस अहिलेको मुख्य चुनौती हो ।
खोपको सबै मात्रा पूरा गरेको १४ दिनपछि संक्रमण देखिनुलाई ब्रेकथ्रो संक्रमण भनिन्छ । किनभने खोप शतप्रतिशत सुरछित छैनन् । तर, अहिले देखिएका परिवर्तित भाइरससँग पनि धेरै हदसम्म असरदार छ भन्ने कुरा अध्ययनहरुले देखाएको छ । ब्रेकथ्रो संक्रमण देखिए पनि खोपको अर्को कुनै विकल्प छैन । नेपाल लगायत विश्वका १ सय ३२ देशहरुमा डेल्टा भाइरस देखिएको छ भने नेपालमा डेल्टा प्लस र अल्फा पनि देखिन थालेका छन् ।
अमेरिकामा भएको संक्रमण मध्ये डेल्टा भाइरसले ८३ प्रतिशत ओगटेको छ र यो नै मुख्य विचरण गरिरहेको भाइरस हो । डेल्टा भाइरसबाट संक्रमण भएपनि खोप लगाएको छ भने अस्पताल भर्ना हुनुपर्ने दर धेरै नै कम छ । नेपालमा प्रयोग भईरहेको चिनियाँ खोप डेल्टा भाइरसको हल्का संक्रमणविरुद्ध ५९ प्रतिशत, मध्यम खालको संक्रमणको लागि ८० प्रतिशत र १०० प्रतिशत गम्भीर खालको संक्रमणविरुद्ध प्रभावकारी भएको चिनियाँ अध्ययनले देखाएको छ ।
यस्तै, भारतमा निर्मित कोभिशिल्ड, डेल्टा भाइरसविरुद्ध र कोभ्यसिन डेल्टा प्लससँग पनि प्रभावकारी भएको जानकारी आइसीमरको अध्यनमा उल्लेख गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका र जेष्ठ नागरिकहरुमा खोप लगाए पनि संक्रमण देखिन्छ । अमेरिकाको स्वास्थ्य एजेन्सी सीडीसीको भनाइ अनुसार ब्रेकथ्रो संक्रमणको कारणले अस्पताल भर्ना भएका ४०–४५ प्रतिशत बिरामीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम भएको देखिन्छ ।
डेल्टा भाइरसले टेकओवर गरेपछि खोपको प्रभावकारिता घटेको कुरा बेलायत र अमेरिकामा गरेका अध्ययनले उजागर गरेको छ । डेल्टा भाइरसविरुद्ध पनि हाल रहेका खोपहरु असरदार भएपनि केस बढ्नुमा के–के कारण छन् त ? पहिलो डेल्टा भाइरस धेरै संक्रामक हुनु, दोस्रो डेल्टा भाइरसको संक्रमणपछि भाइरसको मात्रा शरीरमा अत्यधिक हुनु तेस्रो खोपको प्रभावकारिता समयसँगै घट्दै जानु चौंथो सामाजिक दूरी वा ‘स्मार्ट लकडाउन’ को पालना राम्रोसँग नहनु । यी सबै कुराहरुलाई हेर्दा बूस्टरर्ड डोजको आवश्यक्तालाई नकार्न सकिंदैन ।
कमसेकम जोखिम भएकाहरुलाई दिनको लागि सोच्न सकिन्छ । तेस्रो लहर आयो भने एउटा कुराले आउँछ त्यो हो खोप नलगाएका मान्छेहरुको संक्रमण जानकारहरुका अनुसार यदि देशले आफ्ना नागरिकहरुलाई खोप योजनामा धेरै भन्दा धेरै समेट्न सकेन भने, भाइरसको परिवर्तित रुपहरु देखिन थाल्छन र खोप लगाएका राष्ट्रहरुलाई नै जोखिम हुन थाल्छ । खोपको दायरा वृद्धि गर्न सक्नु महामारी अन्त्यको लागि ठूलो र अचुक अस्त्र हो । के त्यसो भए हरेक १२ महिनामा कोरोनाको खोप लगाउनु पर्ने हो त ?
डा. बराल ग्राण्डी अस्पताल धापासीमा कार्यरत छन् ।