श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिर बन्द हुने

श्रावण २६, २०७७ | ललितपुर

श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने ललितपुरको कृष्ण मन्दिर मंगलबार भक्तजनहरुका लागि बन्द हुने भएको छ । 

कोभिड–१९ महामारी व्यापक फैलिएका कारणले स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला व्यक्तिहरु बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले यस वर्ष आन्तरिक पूजामा मात्र सिमित हुने बताउनुभयो । प्रत्येक वर्ष भाद्र अष्टमीमा श्रीकृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर मुलुकभर कृष्ण मन्दिरमा मेला लाग्ने गर्दछ । 

पाटन दरवार क्षेत्रस्थित कृष्ण मन्दिरमा अष्टमीकै दिन राष्ट्रप्रमुखबाट पनि पूजा अर्चना गरिने प्रचलन समेत रहेको छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौा गर्भबाट भगवान विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।


प्रतिक्रिया