साउन २९ सम्म स्याङ्जा बन्द

श्रावण २३, २०७७ | स्याङ्जा

– कोरोना भाइरसका संक्रमित थपिदै गएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला बन्द पुन: एक सातालाई लम्ब्याएको छ । यसअघि साउन २३ सम्मलाई गरिएको बन्द साउन २९ सम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो ।

कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्न सूचना जारी गरेको हो । लकडाउनको अवधिभर भारतबाट आउनेहरुमा कोरोना देखिएको थियो । त्यसपछि तेस्रो मुलुकबाट आउने व्यक्ति र समुदायका मानिस साथै प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रशासनले जिल्ला बन्द गरेको हो ।

सूचनाको बर्खिलाप गरी अन्य क्रियाकलाप भएमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित नेपाल कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । स्वास्थ्य प्रमुख यामप्रसाद शर्माका अनुसार स्याङ्जामा आजसम्म संक्रमण पुष्टि हुनेको संख्या २ सय ८२ पुगेको छ । उपचारपछि १ सय ९८ जना निको भएर घर फर्केका छन् भने ८२ जना उपचाररत छन् । कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया