लुम्बिनी सांस्कृतिक नगरपालिकाको ताला एक सातापछि खुल्यो

आश्विन १४, २०७७ | तिलोत्तमा

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला एक सातापछि खुलेको छ । नगरपालिका र जिल्लाका राजनीतिक दलबीचको सहमतिपछि नगरपालिकाको कार्यालयको ताला मंगलबार खोलिएको हो । 

आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने, शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने विषयमा नगरपालिका जिल्लाका राजनीतिक दलबीच सहमतिपछि ताला खोलिएको जनता समाजवादी पार्टी प्रदेश ५ का समिति सदस्य इनामुल्लाह फकिरले बताउनुभयो । 

नगरभित्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावक भेलाबाट चुनिनुपर्नेमा हरेक वडाका अध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने भनी गरिएको निर्णय खारेज गर्न र छाडा चौपाया नियन्त्रण तथा तस्करी रोक्नका लागि नगरपालिकाले भूमिका खेल्नुपर्ने मागसहित गत भदौ २९ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । 

आफूहरुको माग सम्बोधन नभएको भन्दै असोज ६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा विरोध सहित तालाबन्दी गरेका थिए ।

 ताला खुलेपछि मंगलवारदेखि कार्यालयको काम सञ्चालनमा आएको नगर प्रमुख मनमोहन चौधरीले बताउनुभयो । नगरपालिकाले कार्यपालिकाबाटै शिक्षा ऐन संशोधन गरी अगाडि बढाउने निर्णय गरेपनि नगर परिषद्बाट पारित हुनुपर्ने भएकाले सहमति हुन सकेको थिएन ।


प्रतिक्रिया