चीनमा सोझै भैंसीको मासु निर्यात गर्ने तयारी, उत्पादनलाई गुणस्तर बनाउन विज्ञको सुझाव

आश्विन १५, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा दुई देशले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा भैंसीको मासु निर्यातको बूँदा समेत समेटिएको छ । संयुक्त वक्तव्यमा सो बिषयले प्रवेश पाएकाले नेपालबाट भैंसीको मासु आयात गर्न चीन सकारात्मक भएको अर्थमा हेरिएको छ । सम्वद्ध अधिकारीहरुका अनुसार अहिले नेपालबाट भियतनाम हुँदै विभिन्न देशमा भैसी र राँगाको मासु निर्यात भइरहेकाले चीनमा सोझै मासु निर्यात हुन सकेमा नेपालको समग्र निर्यातका लागि महत्वपूर्ण बाटो खुल्ने देखिएको छ । व्यवसायीहरुले भने नेपाली बजारमा पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा अन्य देशमा मासु निर्यात चुनौतीपूर्ण हुने बताएका छन् ।

एक दशकअघिसम्म सुनसरीमा राँगा/भैंसीको मासु प्रशोधनको लागि बधशाला सञ्चालन थियो । त्यहाँ उत्पादित मासु बाहिरी मुलुकमा निकासी हुन्थ्यो तर विभिन्न कारणले बधशाला बन्द हुन पुग्यो । तैपनि नेपालबाट भैंसी र राँगाको मासु निर्यात भएको सरकारी तथ्यांकले देखाउछ । कृषि तथा पशु पन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालबाट वर्षेनी १९ क्विन्टल भन्दा बढी राँगा र भैंसीको मासु निर्यात भएको छ । भन्सार विभागका अनुसार ती मासु भियतनाममा निर्यात हुँदै आएको छ । नेपालबाट भियतनाममा पुगेको मासु अन्य विभिन्न मुलुकको बजारमा बिक्रि हुने सम्बद्ध अधिकारीले बताएका छन् । तेस्रो मुलुकमा निर्यात हँुदै आएको भैंसी र राँगाको मासुको परिकार चीनमा अत्यधिक माग छ । चीनमा भैंसी र राँगाको मासुु निर्यात गर्न सकिने सम्भवना रहेको पशुु आहार विज्ञ डा. तुलसीप्रसाद पौडेलले बताए ।

मन्त्रालयका अनुसार नेपालमा उत्पादित मासुमध्ये करिब ३७ प्रतिशत राँगा र भैंसीको मासु छ । गत आर्थिक वर्षमा कुल ५ लाख १२ हजार मेट्रिक टन उत्पादित मासुमध्ये लाख ९४ हजार मेट्रिक टन मासु राँगा र भैंसीको छ । नेपालबाट राँगा र भैंसीको मासुको निर्यात मात्र हेर्ने हो भने बढ्दो क्रममा छ । आर्थिक २०७७ /०७८ मा भैंसी र राँगाको मासु १९ क्विन्टल भन्दा बढीे भियतनाममा निर्यात भएको छ । सो बराबर १ करोड ५ लाख ६२ हजार रुपैयाँ भित्रिएको छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १९ क्विन्टल र ५५ किलो भैंसी र राँगाको मासु निर्यात भएको तथ्यांकले देखाउछ । सोबाट १ करोड ३२ लाख ९ हजार रुपैयाँ आर्जन भएको छ । बढी मात्रामा निर्यात गर्न मासुको उत्पादन पर्याप्त नभएको व्यवसायीको भनाइ छ । अन्तराष्ट्रिय स्तरको बधशाला र भैंसी राँगाको फार्म नभएकाले उत्पादनमा चूनौती हुने काठमाडौं चौपाया खरिद बिक्री संघका व्यवस्थापक जीवनराज खडिवडाले बताए ।

जानकारहरुका अनुसार अन्य मुलुकको तुलनामा नेपालबाट उत्पादित मासु सस्तो पर्छ । नेपालले राँगा र भैंसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहने राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका वरिष्ठ पशुुविकास अधिकृत विश्वनाथ गौतमले बताए ।

नेपालबाट भैंसीको मासु आयात गर्न चीन सकारात्मक देखिएको छ । चिनियाँपक्षले नेपाललाई भैंसीको मासु निर्यात गर्न स्वीकृति दिने प्रक्रियालाई अघि बढाउने भएकाले स्वदेशमा उत्पादित मासुको गुणस्तरमा ध्यान दिनु पर्ने विज्ञ पौडेलको सुझाव छ ।

नेपाल र चीनबीच मासु निर्यातका लागि भएको पहलले दुई देशको व्यापार घाटा न्यूनीकरण गर्न समेत सघाउने विज्ञहरुको बुझाइ छ । त्यसैले मासुको स्वच्छता र गुणस्तर मापदण्डमा नेपालले विशेष ध्यान दिनु पर्ने उनीहरुले सुझाव दिएका छन् । 


प्रतिक्रिया