नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुग्न लाग्यो : ऊर्जामन्त्री पुन

पुस २२, २०७६ | खोटाङ

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नेपाल विद्युतमा आत्मनिर्भर बन्दै गएको बताउनु भएको छ । 

खोटाङमा निर्माणाधीन ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निरीक्षणका क्रममा मंगलबार मन्त्री पुनले आगामी वर्षदेखि नेपालले छिमेकी देशबाट बिजुली ल्याएर बाल्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । 

देशका विभिन्न स्थानमा साना तथा ठूला किसिमका जलविद्युत आयोजनाहरुको काम अन्तिम चरणमा पुगेकाले नेपाल यस आर्थिक वर्षको अन्त्यबाटै विद्युत निर्यात गर्ने अवस्थामा पुग्ने उहाँले बताउनुभयो ।

मन्त्री पुनले आगामी पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको संकल्प पूरा गर्नेगरी काम भइरहेको बताउनुभयो । 

यस वर्ष तराई, मधेश र शहरी क्षेत्रका ४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषणाको तयारी गरिएको पुनको भनाई छ । आगामी दुई वर्षभित्र खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगायतका पहाडी जिल्लाका घर–घरमा उज्यालो पुर्‍याउने मन्त्री पुनको भनाई थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित नेपाली सेनाको हेलिकोप्टरबाट आयोजनास्थल निरीक्षण गरेका मन्त्री पुनले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि एसियाली बिकास बैंक (एडिबी)बाट करीब ६० अर्ब ऋण सहयोग प्राप्त हुने र बाँकी एक खर्ब रकम नेपाल सरकार, विद्युत प्राधिकरण, सञ्चय कोष तथा बैंकबाट जुटाएर आयोजना सफल पार्ने बताउनुभयो ।

आयोजनाका लागि २ सय २० मिटर अग्लो बाँध निर्माण गरी दूधकोशी नदीमा १७ मिलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलासय बनाइने छ । 

यस्तै १३.३० किलोमिटर लामो सुरुङ मार्ग हुनेछ । उक्त आयोबाट वर्षा याममा २ अर्ब ८ करोड तथा सुख्खा याममा १ अर्ब ३६ करोड युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी, ढल्केवर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।


प्रतिक्रिया