'एडिबीको सहयोगमा वीरगञ्ज–जीतपुर –सिमरा कोरिडोर परियोजना छिट्टै अघि बढ्ने'

चैत्र ३, २०७७ | काठमाडौं

सरकारले एशीयाली विकास बैंकको सहयोगमा मुलुककै प्रमुख व्यापारिक केन्द्र बीरगञ्जमा महत्वपुर्ण कोरिडोर परियोजना संचालनको तयारी गरेको छ । बीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर नाम दिइएको सो परियोजना सफल भए त्यस क्षेत्रको आर्थिक विकासमा कायापलट हुने सरोकारवालाको भनाई छ ।

'कोरिडोर योजनाको पहिचान र विकास' सम्बन्धमा काठमाण्डौमा आयोजित एक दिने कार्यशाला गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधीले तीन तहकै सरकारबीच समन्वय गरेर सो परियोजनालाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय शहरी नीति २०६४ ले लिएको उद्देश्यलाई आधार मानेर तयार गरिएको राष्ट्रिय शहरी विकास रणनीतिमा प्राथमिकता साथ राखिएको कोरिडोर रणनीतिक कार्यक्रमलाई नेपाल सरकारले समावेश गरेको छ ।

पन्ध्र्रौ योजनामा समेत सरकारले यो परियोजनालाई रुपान्तरकारी योजनाको रुपमा प्राथमिकताका साथ अघि सारेको छ ।

कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री प्रभु साहले बीरगञ्ज मुलुककै प्रमुख आर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउन सके मात्र समग्र मुलुकको विकासमा थप टेवा पुगी सम्बृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताउनुभयो ।

वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनालाई योजनावद्ध ढंगले अघि बढाउन जरुरी रहेको भन्दै उहाँले त्यसका लागि केन्द्र सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

मन्त्री साहले भन्नुभयो, योजना सही भयो भने मात्र परिणाम पनि सही हुन्छ त्यसैले बस्तुवादी भएर कार्यक्रमकार्यान्वयनमा लैजान म सवैलाई सुझाव दिन्छु ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले सो कोरिडोरको विकासले नै मुलुकको समग्र आर्थिक बिकासलाई प्रोत्साहित गर्ने भएकाले यसको सफलताका लागि सवै पक्षको सहयोग र समन्वय महत्वपुर्ण हुने धारणा राख्नुभयो ।

स्थानीय सरकारसाग साझेदारी नगरे सम्म कुनै पनि परियोजना सफल हुन नसक्ने भन्दै उहाँले तीन तहकै सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 


प्रतिक्रिया