वाणिज्य बैंकले बढाए ब्याजदर

कार्तिक १, २०७८ | काठमाडौं

लगानीयोग्य रकमको अभावपछि अधिकांश वाणिज्य बैंकले बचत तथा मुद्दती खातामा दिने ब्याजदर वृद्धि गरेको छ । बैंकहरुले सूचना सार्वजनिक गर्दै आजबाट लागू हुनेगरी बचत तथा मुद्दती खातामा ब्याजदर बढेको जानकारी दिएको हो । 

बैंकहरुले लामो अवधिका लागि स्रोत सुनिश्चित गर्न मुद्दतीमा ११ प्रतिशत भन्दा बढी ब्याज दिने घोषणा गरेका छन् । लगानीयोग्य रकमको अभावपछि बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका हुन् । पछिल्लो साता कर्जा प्रवाह निक्षेप भन्दा उच्च दरले वृद्धि भएपछि लगानीयोग्य रकमको अभाव देखिएको छ । 

असोजको सुरुआती तीन सातामा वाणिज्य बैंकहरुमा ८४ अर्ब निक्षेप थपिंदा १ खर्ब ११ अर्ब कर्जा प्रवाह भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ । 

असोज २२ गतेसम्म आउँदा वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा ३९ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । कोरोना भाइरस महामारीको असर न्यून हुँदै गएकाले कर्जाको माग अझै बढ्ने अनुमानपछि बैंकहरुले स्रोत जुटाउन निक्षेपमा ब्याजदर बढाएका हुन् । 


प्रतिक्रिया