मजदुरको आन्दोलनले सुनकोसी-मरिण डाईभर्सनको काम ठप्प

पुस १२, २०७८ | सिन्धुली

सिन्धुलीमा निर्माणाधिन राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यिय आयोजनाको सुरुङ मार्ग निर्माणमा संलग्न मजदुरहरु थप सेवा सुबिधाको माग गर्दै विरोधमा उत्रिएका छन् । मजदुरले जिल्ला दररेट अनुसारको पारिश्रमिक र अन्य सुबिधा माग गर्दै काम ठप्प पारेर विरोधमा उत्रिएका हुन् । 

कमलामाई नगरपालिका–२ कुसुमटारमा दुई महिना अघिदेखि सुरुङ मार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इजिन्जनियरिङ (कोभेक) ले कार्यालय, कर्मचारीको आवास गृह लगायत भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । 

जिल्ला दररेट अनुसार दैनिक ८ घण्टा काम गर्दा ज्याला एक हजार रुपैयाँ रहेपनि आयोजनाले ७३५ रुपैयाँ मात्र दिने गरेको मजदुरहरुको गुनासो छ । आयोजनमा काम गर्दै आएका मिस्त्री पप्पु भुजेलले आफूहरुको माग पूरा नभएसम्म काममा नफर्किने बताउनुभयो । 

आयोजनामा अहिले ११० मजदुर, मिस्त्री ५० जना, मेकानिकल ८ जना, अपरेटर २० जना, वेल्डर ७ जना, दोभासे चारजना, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० जना मजदुर कार्यरत रहेको चाइना ओभरसिज इन्जिनियरिङले जनाएको छ । 

आन्दोलित मजदुरले आयोजना निर्माणको जिम्मा पाएको कम्पनीलाई ज्ञापन पत्र बुझाउँदै जिल्ला दररेट कायम हुनुपर्ने, ओभर टाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभर टाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभर टाइम हुनुपर्ने, दशैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचार सहित सामान्य हाजिरी हुनुपर्ने लगायत माग गरेका छन् । 

सुनकोसी–मरिण डाईभर्सन आयोजनाका इन्जिनियर रवि शाक्यले समस्या समाधानका विषयमा ठेकेदार कम्पनी र मजदुरबीच छलफल भई रहेको र एक/दुई दिनमै निकास निस्किने बताउनुभयो ।

उहाँका अनुसार आयोजनामा यतिखेर क्याम्प व्यवस्थापन लगायत पूर्वाधार निर्माणको काम भईरहेको छ । अब अप्रिल महिनामा टनेल बोरिङ मेसिल (टीबीएम) ल्याएर सुरुङ खन्ने तयारी भईरहेको छ । 

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउने छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ । 


प्रतिक्रिया